देशभरका स्थानीय निकाय अनिश्चितकालका लागि ठप्प, सेवाग्राही मर्कामा
कपन अनलाइन, काठमाडौँ । बिभिन्न काम लिएर स्थानीय निकाय पुगेका सर्वसामान्यहरू आज पनि काम नभएर यत्तिकै घर फर्किएका छन् । स्थानीय निकायका कार्यालयमा कर्मचारीहरू बिभिन्न माग राखी धर्ना गरेर बसेका कारणले सर्वसामान्यको काम हुन नसकेको हो । देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् ।
सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताका लागि अवसर दिनुपर्ने उनीहरुको मुख्य माग छ ।
स्थानीय निकायका ट्रेड युनियनले अनिश्चितकालीन हड्ताल गर्दा जिविस, महानगरपालिका, नगरपालिका र गाविसका काम प्रभावित भएको छ । स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी सङ्घले संयुक्त रुपमा आफ्नो माग राख्दै हड्ताल गरिरहेका हुन् ।
तपाइँको प्रतिक्रिया ।