तेस्रो हिसान खेलकुद सप्ताह–२०७३ सम्पन्न

कपन अनलाइन 

काठमाडौँ, २८ माघ । उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा सुरु भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आज यहाँ सम्पन्न भएको छ ।

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो ।

समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले खेलकुदले मानिसको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देश विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताउँदै खेलले एक विद्यालय र अर्को विद्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाएको छ भन्नुभयो ।

सो प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

सो अवसरमा आजको बास्केटबल प्रतियोगितामा महिलातर्फ प्रथम र द्वितीय हुने क्रमश जेभियर इन्टरनेसनल कलेज र नाशा इन्टरनेसनल कलेज तथा पुरुषतर्फ प्रथम र द्वितीय हुने क्रमश क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र जेभियर इन्टरनेसनल कलेजलाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।

खेलमा महिलातर्फ जेभियर इन्टरनेसनल कलेजकी छात्रा कर्माछिरिङ शेर्पा र पुरुषतर्फ सिसिआरसीका छात्र मनिष केसी उत्कृष्ट खेलाडी घोषित भए । रासस

तपाइँको प्रतिक्रिया ।