स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

कपन अनलाइन 

पोखरा, २७ माघ । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् ।

निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताउनुभयो ।

“निर्वाचन हुने सबै क्याम्पस कमिटीलाई क्रियाशील गरिएको छ,” उहाँले भन्नुभयो । शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अन्य विद्यार्थी सङ्गठनसँग छलफल गरिरहेको उहाँको भनाइ छ ।

यस्तै जिल्लाका विभिन्न क्याम्पसमा साङ्गठनिक गतिविधि तीव्र पारेको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष नारायण बराल बताउनुहुन्छ ।

स्ववियुको निर्वाचनका लागि क्याम्पसका प्रत्येक एकाइलाई सक्रिय पारेको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भानु ढकाल बताउनुहुन्छ । “स्ववियु निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ,” उहाँले भन्नुभयो ।

जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँच र नेपाल संस्कृत विश्वविद्यालयको एएटा क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।