कोठैमा मिल्यो कुटेको कुरा

कोठैमा मिल्यो कुटेको कुरा

कपन अनलाइन 
सञ्चो नभएको कारण देखाएर उनले बिहानको पिटी खेल्न मानेनन् । बालक सुदीप दाहालको कसुर यति मात्रै हो । त्यही बहानामा प्राचार्य सुरेश यादवले अस्ति आइतबार झापड लगाए । १६ वर्षे किशोरको शरीरमा ४५ कटेका व्यक्तिको झापड परेसँगै आजकलका बच्चा न परे– ‘मलाई किन पिट्नुभयो ? अब पिटी–सिटी केही गर्दिनँ, तपार्इंले के गर्न सक्नुहुन्छ गर्नुहोस् ।’ भन्दै घुर्की देखाए । त्यसपछि के चाहियो र ? प्राचार्य यादव विद्यार्थीमाथि खनिए ।

यसपटक झापड होइन, नजिकै भएको प्लास्टिकको कालो पाइप समाए । र, दाहालको खुट्टा, तिघ्रामा अन्धाधुन्ध बर्साउन थाले । प्राचार्यको अन्धाधुन्ध प्रहारबाट विद्यार्थीको छाला परपरी फुट्यो । दिनभर त्यो असह्य पीडा बोकेर बर्बरी आँशुको धारा चुहाउँदै अध्ययन पूरा गरे । बेलुका असजिलो ढंगले कोठामा फर्किए ।

बिहान सकुशल गएको छोरा बेलुका घाइते भई फर्किएसँगै अभिभावक ज्ञानहरि दाहालले सबै कुरा जान्न खोजे । बलिन्द्रधारा आँशु खसाल्दै सुदीपले दुव्र्यवहारको कहानी सुनाए । आइतबार त्यत्तिकै बित्यो । सोमबार बिहानै ज्ञानहरि छोराको साथ लागेर धुम्बाराहीस्थित लुम्बिनी बिगिनर्स एकाडेमी पुगे । प्राचार्यसँग कुरा गरे । प्राचार्य यादवले कुनै ठूलो गल्ती नगरेको जिकिर गरे । ‘सामान्य नसियत दिएको मात्र हुँ । यो कुनै अपराध होइन,’ यसरी अड्डी कसे ।
आफ्ना सन्तानमाथि ज्यादती गर्ने प्राचार्यले गल्ती नस्विकारेर अझै ठूला कुरा गरेपछि अभिभावक दाहालले एनप्याब्सनका प्रतिनिधिसँग गुहार मागे । एनप्याबसनले ठूलो इस्यु नबनाउन र मिलाउन सचिव विष्णु पराजुलीलाई खटायो । उक्त स्कुलको अध्यक्ष नारद दवाडी, प्रबन्ध–निर्देशक अरुण प्रधान, एनप्याब्सनका सचिव विष्णु पराजुलीको रोहबरमा कुरा मिलाउने सहमति भयो । त्यसका लागि प्राचार्य यादवले विद्यार्थीसँग माफी माग्नुपर्ने शर्त ज्ञानहरिले अगाडि राखे । ज्ञानहरिकै कोठामा पुगेर कक्षा नौ मा अध्ययनरत सुदीप दाहालसँग माफी मागेसँगै यो प्रकरण मिलाइएको छ ।
अभिभावक ज्ञानहरिले जनआस्थासँग भने, ‘मैले कानुनी प्रक्रिया अपनाउन किन चाहिनँ भने ऊ पनि कसै न कसैको अभिभावक हो । मुद्दा–मामिला गरेर कहाँ नै पुगिन्छ र ? फेरि यसप्रकारको ज्यादती हुन नदिने आश्वासन र कमिन्टमेन्ट स्कुल सञ्चालक र अध्यक्षले गरेपछि एक पटकलाई माफ दिएको हुँ ।’ ज्ञानहरिको छोरा मात्र होइन, छोरी पनि सोही स्कुलमा १० कक्षामा अध्ययनरत छिन् । छोरीलाई स्कुलबाट निकाल्न सक्ने अवस्था नरहेकै कारण पनि उनले मुद्दा–मामिला गर्न नचाहेको प्रतिक्रिया दिए । कक्षा सातबाट त्यहाँ भर्ना भएका हुन् सुदीप । प्रथम हुँदै आएका उनी जेहन्दार विद्यार्थीमा गनिन्छन् ।
तिघ्रा र पिँडुलामा चोट लागेका दाहालको मेडिकलमा लगेर उपचार गराइएको छ । उनी मंगलबारदेखि पूर्ववत् स्कुल जान थालेका छन् । यस सन्दर्भमा प्राचार्य यादवले भने, ‘मैले सुदीपको बुबासँग सबै कुरा मिलाइसकेको छु । अब तपार्इंसँग के कुरा गर्न बाँकी छ र ?’ जनआस्था साप्ताहिकले आज खबर छापेको छ ।

तपाइँको प्रतिक्रिया ।