छिट्टै नै पर्यटन क्षेत्रमा क्रान्ति आउँछः प्रधानमन्त्री

छिट्टै नै पर्यटन क्षेत्रमा क्रान्ति आउँछः प्रधानमन्त्री

कपन अनलाइन 

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउने बताउनुभएको छ ।

नेपाल पर्यटन व्यवसायी सङ्गठनको एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “पर्यटन पूर्वाधारका संरचना निर्माण भइरहेकाले अब छिट्टै नै मुलुकको पर्यटन क्षेत्रमा आर्थिक क्रान्ति हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डले “छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउँदैछ भन्ने मैले देखेको छु, किनकी त्यो क्रान्तिका लागि आवश्यक पूर्वाधार धमाधम बनिरहेको चर्चागर्दै उत्तरतर्फ हिल्सा र कोरला नाका खुल्दैछन्, त्यसले तिब्बती पर्यटक बढ्नेछन् भने अर्कोतर्फ काठमाडौँ–केरुङ रेल्वे सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ, अन्य सडक निर्माण पनि तीव्रगतिमा अघि बढेको छ, यसले ठूलो परिस्थिति निर्माण गर्दैछ भन्नुभयो ।”

उत्तर दक्षिण कोरिडोर धमाधम निर्माण भइरहेको र पूर्वपश्चिम रेल्वे निर्माणको काम पनि अघि बढ्ने प्रक्रियामा रहेकाले पर्यटकीय पूर्वाधार द्रुतगतिमा अघि बढेको उल्लेख गर्दै उहाँले प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा अबको आठ÷दश वर्ष भित्रै पर्यटन थामिनसक्नु हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यो सम्भावनालाई मध्यनजर गरी सकारात्मक सोचका साथ एकताबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिदैं राजनीतिक स्थिरता कायम गरी सकारात्मक सोचका साथ अघि बढ्नसके पर्यटन अनन्तकालसम्म जानसक्ने र यसले नेपाललाई संसारकै समृद्ध राष्ट्रका रुपमा स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा बृहत् रुपमा सम्पर्क सञ्जाल बढिरहेको र हवाईमार्ग, सडकमार्ग तथा रेलमार्ग सञ्चालन छिमेकी देश भारत र चीनलाई पनि आवश्यक भएकाले यसबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने पनि उहाँले बताउनुभयो ।

रारामा मन्त्रिपरिषद् बैठक

नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले मध्यपश्चिमको सुन्दर पर्यटकीय नगरी रारामा पहिलोपटक मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेको छ ।

समग्र देशको पर्यटनलाई सकारात्मक सन्देश दिन उक्त क्षेत्रमा छिट्टै मन्त्रिपरिषद्को बैठक राख्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु, म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ ।”

प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाले नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले आवश्यक नीति र योजना ल्याउनु पर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी दीपक महत, गणेश सिंखडा, गोपालबाबु श्रेष्ठ, दामोदर घिमिरे लगायतले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा माओवादी केन्द्र पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगरले प्रस्तावित नेपाल पर्यटन व्यवसायी सङ्गठनको नवराज दाहाल संयोजक रहेको १५१ सदस्यीय संयोजन समिति र २७ जना सल्लाहकार समिति घोषणा गर्नुभयो ।

उक्त समितिले तीन महिनाभित्र राष्ट्रिय सम्मेलन गर्नेछ । यसअघिका केन्द्र निकटका व्यवसायी संस्था एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबीच एकता भएको हो ।

तपाइँको प्रतिक्रिया ।