कास्कीमा चार हजार बढी नयाँ मतदाता

कपन अनलाइन 

पोखरा, १९ माघ । फोटोसहितको मतदाता नामावली सङ्कलनमा कास्कीमा चार हजार ३८५ जना नयाँ मतदाता थपिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालयले गत पुस १० गतेदेखि सुरु गरेको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा दुई हजार ३१९ जना पुरुष र दुई हजार ६६ जना महिलाले नाम दर्ता गरेको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न जिल्लामा घर भई हाल पोखरामा बसोवास गर्दै आएका ६७ जना पुरुष र ६२ जना महिलाको पनि नाम सङ्कलन गरी सम्बन्धित जिल्लाको मतदाता नामावलीमा समावेश गराउने गरी पठाएको छ ।

कार्यालयवाट खटिएका छवटा टोलीले दुई नगरपालिका र ३२ गाविसका ७९ ठाउँमा पुगेर मतदाता नामावली सङ्कलन गरेका थिए । टोलीले मृत्यु भएका, दोहोरो नाम भएका, बसाइसराइ गरेका मतदाताको पनि विवरण सङ्कलन गरेको र तर यसको सबै विवरणको जानकारी गराउन केही समय लाग्ने कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

गत पुस मसान्तसम्म जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख २८ हजार ५०१ रहेको थियो । जसमा महिला एक लाख २१ हजार ४४०, पुरुष एक लाख छ हजार ३७६ र तेस्रो लिङ्गी पाँचजना रहेको कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।