महायज्ञको हिसाव अझै पारदर्शिरुपमा देखाउन सकेन जोरधाराले

 

३ महिना अघि जोरधारा खानेपानी संरक्षण संस्थाले श्रीवनस्थित श्री पञ्चमहालक्ष्मी पुष्पबाटिकासँग मिलेर कपनमा लगाएको श्रीमद्भागवत महायज्ञको हिसाबकिताब अझै पारदर्शीरुपमा देखाउन सकेको छैन ।

चौतर्फि आर्थिक हिनामिना भएको दबाब बढेपछि आज विहान महायज्ञअन्र्तगतको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम गरिए पनि आर्थिक प्रतिवेदनले सहभागिहरुको प्रश्नको उत्तर दिन नसक्दा विना निर्णय स्थगित गरिएको छ । रु. १२,०२,३१४÷–खर्च, रु.७,३७,८९८÷– बैंक मौज्दात तथा वाग्दानअन्र्तगतको रु.११,०५,२३३÷– उठ्न बाँकी भन्ने प्रतिवेदन कार्यक्रममा बाँडिएको थियो ।

कपनमा लगाइएको महायज्ञहरुमा सबैभन्दा कम खर्चमा गर्ने भनेर शुरु गरिएको महायज्ञको अन्तिम हिसाब देखाउँदा कपनमा लगाइएको महायज्ञ सबैभन्दा महँगो भएको थियो । महायज्ञ भएपछि कपन जोरधारा खानेपानी संस्थाका सदस्यहरु तथा अन्य सार्वजनिक सरोकारवालाहरु आयोजक समितिलाई आर्थिक हिसाब पारदर्शिरुपमा देखाउन दबाब दिँदै आएका थिए । आर्थिक पारदर्शिताको अभावजस्ता कारणले वाग्दानको रकम हालसम्म उठ्न थालेको छैन ।

कपनमा राजनीति गर्ने दलहरुका प्रतिनिधि तथा केही गिने चुनेका व्यक्तिहरुबीच आयोजित कार्यक्रममा आर्थिक प्रतिवेदन भेष डोटेलले प्रस्तुत गरेका थिए ।
आयोजकले आर्थिक प्रतिवेदन दुरुस्त देखाउन नसकेपछि चाँडैनै महायज्ञको समिक्षा बैठक बस्ने र सोही कार्यक्रममा पुनः आर्थिक प्रतिवेदनको पूर्णरुप पेश गर्ने अनौपचारिक निर्णय गरियो ।

गत श्रावण २२ गतेदेखि ३० गतेसम्म आयोजना भएको महायज्ञबाट धेरैभन्दा धेरै रकम संकलन गरी ४ लाख लिटरको भूमिगत पानी ट्यांकी बनाउने योजना थियो । यस कार्यका लागि मुक्तिनाथ पीठाधिश्वर कमलनयनाचार्यले आर्थिक श्रोत जुटाउन विशेष पहल गर्ने भनिएको थियो । कमलनयनाचार्यले पनि कपनमा आएर यस्तै आश्वासन बाँडेका थिए । तर उनका तर्फबाट कुनै उल्लेख्य आर्थिक श्रोत जुट्न नसक्दा कार्यक्रम भनेजस्तो सफल देखिएको थिएन । यद्यपि महायज्ञबाट संकलित रकममध्ये ५० प्रतिशत भने कमलनयनाचार्यको ट्रष्टलाई जानेछ ।

तपाइँको प्रतिक्रिया ।