क्याम्पस प्रमुखको कोठामा तालाबन्दी
कपन अनलाइन
काठमाडौँ, १७ माघ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेरको हदबन्दी तोकेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न लागेकोको विरुद्धमा आज उपत्यकाका अधिकांश क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
नेविसङ्घ काठमाडौँ शाखाका अध्यक्ष मनोज वैद्यको नेतृत्वमा गएको टोलीले उपत्यकाका पशुपति, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पाटन, शङ्करदेव, मीनभवन लगायतका एक दर्जनभन्दा बढी क्याम्पसका क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको हो ।
अध्यक्ष वैद्यले लामो समयदेखि स्ववियु निर्वाचन हुने आशमा बसेका विद्यार्थीको भावनालाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेर निर्वाचनको कार्यतालिका निकालेको विरोधमा आफूहरु तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२८ वर्ष काटेका व्यक्ति विद्यार्थी हुन नपाउने ?” नेविसङ्घ केन्द्रीय समितिले विद्यार्थीको उमेर हदलाई कुल्चेर अगाडि बढेमा या त्रिभुवन विश्वविद्यालयले बेवास्था गरेमा नेविसङ्घ केन्द्रीय कार्यालय र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा समेत घेराउ गर्ने बताउनुभयो । रासस