जिल्ला प्रशासन कार्यालय कैलालीको लापरबाहीका कारण नदीजन्य सामग्रीको उत्खनन रोकिएन

कपन अनलाइन /मीन ठकुरी
माघ ८, धनगढी । स्थानीय सरकारको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको लापरबाहीका कारण जिल्लाका दर्जनौं खोलानालाहरुबाट नदीजन्य सामग्री अबैध रुपमा उत्खनन् हुनेक्रम बढेको छ ।
यसअघि जिल्ला विकास समिति कैलालीले ढुंगा, बालुवा तथा गिट्टी उत्खननका लागि प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन(आइईई) नै नगरी धमाधम उत्खनन भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई ध्यानाकर्षण गराएपछि जवाफमा उनले त्यसलाई रोक्न प्रहरी नै परिचालन गर्ने बताएपनि दुई सातासम्म कुनै प्रक्रिया नचालेपछि अबैध रुपमा थप उत्खनन हुने क्रम बढेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल

हाल जिल्लाका आईईई नगरिएका शिवगङ्गा, मनहरा, रोरा, पथरी कान्द्रा, गौरीगङ्गा, चौमालालगायत खोलानालाबाट अवैध रूपमा नदीजन्य पदार्थको अबैध दोहन हुँदै आएको छ । एउटा खोलाको आईईई गरेर ठेक्कामा लिएका ठेकेदारहरूले नै अवैध रूपमा अर्को खोला तथा चुरे क्षेत्रबाट दैनिक सयौं ट्याक्टर ढुङ्गा तथा बालुवा उत्खनन गर्नेक्रम बढाएपछि चुरे क्षेत्रहरू जोखीममा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली

चुरे तथा वन क्षेत्रभित्र रहेका खोलानालाहरूबाट सामुदायिक वनहरूले नै मनलागी रकम लिएर उत्खनन गर्न दिएको गुनासो वन कार्यालयमा आएको वन अधिकृत रमेश चन्दले बताए । अवैध रूपमा चुरे, राष्ट्रिय तथा सामुदायिक वनभित्र पर्ने खोलानालाहरूबाट नदीजन्य पदार्थ उत्खनन बढेको आफूले महशुस गरे पनि जिल्ला वनको एक्लो पहलले रोक्न नसकिएको चन्दले स्वीकार गरे । यसरी अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन हुने गरेको गुनासो दैनिक जिविसमा आउने गरेपछि त्यसको निराकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा हालसम्म कुनै पहल हुन नसकेको जिविस कैलालीको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको लापरबाहीका कारण नदीजन्य सामग्री ट्याक्टरमा राखेर बेचबिखनमा लगिदै ।

चालू आर्थिक वर्षका लागि जिविसले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननका लागि कैलालीको काँडा, चरैला, डोडा, कर्णाली, खुटिया, गोदावरी, खैराना, कान्द्रा तथा लिक्मा खोलाको मात्रै आईईई गरेको छ । यसबाहेक अवैध रूपमा अन्य खोलाहरूबाट समेत नदीजन्य सामग्री उत्खनन भइरहेको जिविस कैलालीका आर्थिक लेखा प्रशासन अधिकृत योगेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार ठेक्का भएका खोलाहरूबाट जिविसलाई करीब ७ करोड रुपैयाँ आम्दानी भएको छ ।

तपाइँको प्रतिक्रिया ।