चैतदेखि इजाजत नलिई सुर्तीजन्य पदार्थ बेच्न नपाइने

चैतदेखि इजाजत नलिई सुर्तीजन्य पदार्थ बेच्न नपाइने

कपन अनलाइन 

धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्तावमा सो निर्णय गरेको हो।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भए बमोजिम सरकारले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।

उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता गर्ने निकायमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर सुर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए।

सुर्तीजन्य पदार्थको कारोबार गर्न दर्ता गर्ने निकायमा दर्ता भई इजाजतपत्र लिनका लागि आगामी फागुन मसान्तभित्र समयसीमा तोकिएको छ।

तोकिएको म्यादभित्र दर्ता गर्ने निकायमा दर्ता भई इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवतीलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना पनि टाँस्नु पर्नेछ।

अब दैनिक उपयोग्य वस्तु बिक्री गर्ने स्थानामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन। सोको अनुगमन गर्न सरकारले हरेक जिल्लाका सहायक प्रजिअलाई निरीक्षकका रुपमा तोकेको छ। रासस

तपाइँको प्रतिक्रिया ।