एन्फा अनियमितता प्रकरणः लेखासमितिले पुनः कारबाहीका लागि निर्देशन दिने
कपन अनलाइन
काठमाडौं, ६ माघ । ब्यवस्थापिका संसदको सार्वजनिक लेखासमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अखिल नेपाल फुटबल संघ(एन्फा)को अनियमितताको फाइल पुनः छानबिन गर्न दिने भएको छ ।
२ बर्षअघि एन्फामा गोल प्रोजेक्टदेखि विभिन्न शीर्षकमा ५८ करोड रुपैयाँ अनियमितता भएको पुष्टी हुने कागजातसहित लेखासमितिले कारबाही गर्न निर्देशन दिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फाको भ्रष्टाचारको फाइल तामेलीमा राख्दै अनियमितता गर्ने गणेश थापालाई सफाइ दिएको थियो ।
लेखासमितिले उपसमिति गठन गरी एन्फामा भ्रष्टाचार भएको प्रमाणसहित जुटाएर कारबाहीका लागि दिएको निर्देशन अख्तियारले अवज्ञा गरी तामेलीमा राखेको थियो भने भ्रष्टाचार गर्ने गणेश थापालाई सफाइ दिएको थियो । अख्तियारले सफाइ दिएको ६ महिनामै अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले भ्रष्टाचारको आरोपमा थापालाई १० बर्षका लागि निलम्बन गरेको थियो ।
नेपालको अख्तियारले नदेखेको भ्रष्टाचार फिफाले देखेर निलम्बन गरिसक्दा पनि उनीमाथि आयोगले कुनै कारबाही गरेन । फिफाले भ्रष्टाचारको अभियोगमा १० बर्ष निलम्बन गरिसकेको छ । ‘सर्वोच्च अदालतले अयोग्य भनेर लोकमानलाई हटाइसकेपछि उनले तामेलीमा राखेको एन्फाको फाइल पुनः छानबिन हुनुपर्छ । र, एन्फाको भ्रष्टाचारमा संलग्न थापामाथि कारबाही हुनुपर्छ ।’ लेखासमितिका सदस्य रामहरि खतिवडाले भने, ‘लेखासमितिको अबको बैठकले एन्फाको भ्रष्टाचार लगायत लोकमानसिंह कार्कीले तामेलीमा राखेका ठूला भ्रष्टाचारका फाइल पुनः उल्ट्याएर छानबिन गर्न निर्देशन दिनेछ ।’