राष्ट्रिय भलिबल तथा दौड प्रतियोगिता
कपन अनलाइन
काठमाडौँ, ६ माघ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल तथा प्रधानसेनापति खुला दौड प्रतियोगिता यही माघको तेस्रो र पाँचौँ हप्तामा हुने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना, खेलकुद विभाग प्रमुख रामकाजी रानामगरले यही माघ ९ देखि १४ सम्म भलिबल र खुला दौड प्रतियोगिता माघ २९ गते हुने जानकारी दिनुभयो । भलिबलमा पाँच विकास क्षेत्रसहित आयोजक आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) आठ टोलीको सहभागिता रहनेछ ।
भलिबलमा प्रथम स्थान हासिल गर्ने टोलीले रु तीन लाख, दोस्राले रु एक लाख ५० हजार तथा तेस्राले रु ७५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षक, स्पाइकर, ब्लकर, डिफेन्डर र लिप्टर घोषित हुने खेलाडीले जनही रु १० हजार तथा प्रतियोगितामा सर्वोत्कृष्ट उपाधि पाउने एक खेलाडीले एक थान मोटरसाइल प्राप्त गर्नेछन् ।
त्यस्तै दौडमा बयालिस दशमलव १९५ किमी(म्याराथन), २१ किमि महिला तथा पुरुष हाफ म्याराथन, १० किमि उच्च पदाधिकारीको दौड, पाँच किमी छात्र÷छात्रा र पाँच किमी वाकाथन विधामा प्रतिस्पर्धा हुनेछ ।
म्याराथनमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु एक लाखसहित एक थान यामाहा कम्पनीको मोटरसाइकल, दोस्राले रु ५० हजार, तेस्राले रु २५ हजार, चौथाले रु १५ हजार, पाँचौँले रु सात हजार तथा छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथुनमा पहिलो हुने खेलाडीले रु २५ हजार, दोस्राले रु १५ हजार तथा तेस्राले रु १० हजार प्राप्त गर्नेछन् । सो विधामा प्रथम हुने महिला खेलाडीले रु २५ हजारसहित एक थान स्कुटर प्राप्त गर्नेछिन् ।
छात्रछात्रा दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजार प्राप्त गर्नेछन् । दश किमीको उच्चपदाधिकारीको दौड तथा वाकाथनमा भने नगद पुरस्कार समावेश गरिएको छैन । रासस
