पाकिस्तानमा सडक दुर्घटना आठको मृत्यु
कपन अनलाइन
इस्लामाबाद: पाकिस्तानको पञ्जाव प्रान्तमा अवस्थित लडरान जिल्लामा विद्यालयको एक बस रेलसँग ठोक्किँदा आठ व्यक्तिको मृत्यु भएको छ । एक विद्यालयका बालबालिका बोकेको सो सवारी साधन रेलसँग ठोक्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस दुर्घटनामा सात बालबालिका र बसको चालकको मृत्यु भएको बताइएको छ । पाकिस्तानको पूर्वी भागमा अवस्थित पञ्जाव प्रान्तको लडरान जिल्लाको जलापुर क्ष्ोत्रमा विद्यालयको सो बस रेलवे मार्गबाट पार गर्न लाग्दा रेलसँग ठोक्किएर दुर्घटना भएको सङघीय रेलवे मन्त्री ख्वाजा सआद रफिक्वेले जानकारी दिनुभएको छ ।
यस घटनामा अन्य चार बालबालिका घाइते भएका छन् । ती सबैलाई उपचारार्थ अस्पताल लगिएको जनाइएको छ । तर ती सबै बालबालिकाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । प्रहरीका अनुसार यस घटनामा मारिएका र घाइते भएका सबै बालबालिकाको उमेर पाँचदेखि आठ वर्षको रहेको छ । सो घटनाको कारण अनुसन्धानरत रहेको जानकारी दिइएको छ । रासस