धोवीखोला सरसफाई अभियान कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा
कपन अनलाइन
पौष २४ । धोवीखोला सरसफाई कार्यक्रमअन्तर्गत १५० औँ हप्ताको कार्यक्रमको आज बुढानिलकण्ठ मन्दिर परिसरमा भएको छ। स्वच्छ धोवीखोला बनाउने कार्यक्रमअन्तर्गत आजबाट शुरु भएको विशेष कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगनकुमार थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।
स्वास्थ्य मन्त्रीसमेत रहेका क्षेत्र नं. ४ का सांसद गगन थापाले कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताए। यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उनको भनाई थियो । बुढानिलकण्ठ नगरपालिकाको आयोजना भएको कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले रुद्रमती खोला काठमाडौंको सभ्यतासँग जोडिएको हुँदा यसको सुरक्षा र स्वच्छताका लागि सबै यस भेकका स्थानीय सचेत हुनु पर्ने बताए ।
स्वास्थ्य मन्त्री थापाले धोवीखोला करिडोर सडक निर्माण यसको गुणस्तर तथा विवादको बारेमा बोल्दै सबै मिलेर राम्रो बनाउनु पर्ने कुरामा आफू लागेको बताए । थापाले धोवीखोलासँग सम्बन्धित सबै विषय पारदर्शी बनाउन आफूले बिबिध प्रयास गरेको पनि बताउँदै यो हिउँदमा धोवीखोलालाई हेर्नयोग्य बनाउन सबैले सफाईमा ध्यान दिन अनुरोध गरे ।
कार्यक्रमलाई नगरपालिका प्रमुख विश्वराज मरासैनीलगायतका व्यक्तिहरुले सम्बोधन गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीयवासी, राजनीतिक दलहरु र प्रहरीको सहभागिता थियो । सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय डा राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिए। सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व सचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गरेका थिए।
उद्घाटन कार्यक्रमको फोटोहरू(सानु श्रेष्ठ)