कपन प्रहरी प्रभागको व्यथा
कपनको शान्ति सुरक्षामा प्रमुख भूमिका निर्वाह गरिरहेको कपन प्रहरी प्रभाग यतिखेर निरिक्षक नवराज ढुंगाना नेतृत्वमा प्रहरीहरु परिचालित छ । पछिल्ला समय शान्ति सुरक्षा बहालीका लागि विभिन्न कृयाकलापमा कपन प्रहरी कृयाशील छ । विशेषगरेर आउँदो बडादशैंको अवसरमा शान्ति सुरक्षा सबल बनाउन दुईहप्ता अघिदेखि नै अधिकतम सचेत बनेर आउन सक्ने सबै अप्ठेराहरुको हलका लागि कपन प्रभाग कृयाशील भएको हो ।
शहरमा बढ्दो मानव वस्ति र मानव .वस्तिको विकाससँगै उत्पन्न हुने विविध समस्याहरुसँग जुध्न प्रहरीको सबैभन्दा ठूलो भूमिका हुन्छ । कपन अत्यन्त बढ्दो मानव वस्तिको सागर हो । बेरोकटोक बढिरहेको यो बस्तिसँगै आउने समस्याहरुको हलका लागि वर्तमान कपन प्रहरी प्रभाग सक्षम छ कि छैन भनेर कपनमा अहिलेसम्म कुनै बहश हुन सकेको छैन ।
सामान्यतया प्रभागमा निरिक्षक प्रमुख हुने गर्दछ । तर कपन प्रहरी प्रभागमा दरबन्दिको हिसाबले असिस्टेन्ट सहायक निरिक्षक प्रमुख हुने गरेको छ । यहाँ सहायक निरिक्षक वा निरिक्षकका रुपमा जसले कार्य गरे पनि त्यो विसुद्ध काजमा खटिएका प्रहरी हुन् । जबसम्म निरिक्षकको दरबन्दिको प्रभाग बन्दैन त्यो बेलासम्म प्रभाग स्वतन्त्र हुँदैन । हाल कपन प्रभाग बौद्ध वृतको अंशको रुपमा मात्र कृयाशील छ । जसका कारण यो सामान्य पुलिस स्टेशनको रुपमा मात्र विकसित भैरहेको छ । थनुवा राख्ने कक्षसमेत गतिलो छैन कपन प्रभागमा । महिला थुनुवाको लागि कुनै थुनुवा कक्ष छैन । कोही महिलालाई थुन्नु पर्यो भने बौद्ध पुर्याउनु पर्ने अवस्था रहेको छ ।
हालको कपन प्रभागको कार्यालय रहेको भवन हालसालै दोस्रो तलाको रुपमा विकसित भए पनि त्यसलाई के प्रयोजनको लागि विस्तार गरिएको हो भन्ने बारे सोचिएको पाइँदैन ।
कपनमा राजनीति गर्ने केही व्यक्तिलाई कपन मैले बनाएको हुँ भन्ने भ्रम फैलाउँछन् । तर कपन चौकी प्रभागको रुपमासमेत विकसित बन्न नसकेको अवस्थाका बारेमा सचेत देखिदैनन् । विगत ४ कार्यकालदेखि सइ काजमा खटिँदै आएकोमा कपन ३ मिलनचोकमा गोलीकाण्ड भएपछि इन्सपेक्टर काजको रुपमा आउँदा कतिपय कपनमा राजनीति गर्नेहरु कपनमा इन्स्पेक्टर ल्यायौं भनेर गफ दिइरहेको पाइन्छ । यद्यपि यतिखेर कपन प्रभाग प्रमुखले यहाँ बस्न नचाहेको खण्डमा यहाँ अझै सइ वा असइ नै कार्यरत रहने अवस्था रहेको छ ।
कपन प्रभाग हेर्ने बौद्ध वृत्तका डिएसपिको हालै भएको सरुवाले अब कुनै पनि दिन कपन प्रभागका प्रमुखको पनि सरुवा हुन सक्छ भन्ने सन्देश दिन्छ । यसरी यदि कपनका प्रमुख नवराज ढुंगानाको सरुवा भयो भने नयाँ डिएसपिले यहाँ इन्सपेक्टर नै पठाउँछन् भन्न्े केही छैन । त्यसैले कपनमा प्रहरीको अवस्था सुसम्पन्न बन्दैछ भन्ने हामी कपनवासीहरुलाई लागिरहेको छ भने त्यो कोरा भ्रम मात्र हो ।
कपनलाई विकास गर्ने मै हुँ भन्नेहरुले सबैभन्दा पहिले कपनमा इन्स्पेक्टरको दरबन्दि ल्याउनु पर्ने अवस्था रहेको छ । इन्स्पेक्टरको दरबन्दि भयो भने अरु प्रहरीको दरबन्दि पनि बढ्ने छ । सुसम्पन्न प्रभागले स्वतन्त्ररुपमा काम गर्न सक्छ । बौद्ध वृत्तको शाखाको रुपमा रहनु पर्दैन । अबको आवश्यक्ता भने कपन प्रभागलाई गौशाला प्रभागजस्तो स्वतन्त्र तथा सम्पन्न हुनु हो । यसका लागि सार्वजनिक सरोकार राख्ने सम्पूर्ण कपनबासीलाई साथ लिएर यहाँ राजनीति गर्नेहरु अगाडि बढ्नु पर्ने हुन्छ ।