कपन संगीत सरोवरको ७२ औं श्रृङ्खला सम्पन्न

पछिल्ला ६ वर्षदेखि नियमित भक्ति तथा शास्त्रीय संगीतको कार्यक्रम सञ्चालित गर्दै आइरहेको कपन संगीत सरोवरले आफ्नो ७२ औं श्रृङ्खला आश्विन २७ गते सनिवार सम्पन्न गरेको छ ।
हरेक महिनाको अन्तिम सनिवार कपनस्थित बगलामुखी मन्दिरको परिसरमा हुने कपन संगीत सरोवरको कार्यक्रममा स्वदेश तथा विदेशका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने गर्छन । साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने गरेको छ ।

 

कला संगीतको साथसाथै कपन संगीत सरोवरले साहित्यलाई पनि आफ्ना कार्यक्रममा समाहित गर्ने गर्दछ । हरेक लक्ष्मी जयन्तीको अवसरमा साहित्यिक सम्मेलन पनि गर्ने गरेको छ । साथै आफ्नो वार्षिकोत्सवको अवसर संगीत क्षेत्रको विशिष्ट स्रष्टालाई सम्मानस्वरुप रु. १०,००० नगदसहित सम्मान गर्ने गरेको छ ।

 

आश्विन २७ गते सनिवार भएको नियमित कार्यक्रममा शास्त्रीय संगीत अन्र्तगत कलाकार दूर्गा खतिवडाले बाँसुरी बादनको कार्यक्रम प्रस्तुत गरेका थिए । उनलाई जीवन राइले तबला वादन साथ गरेका थिए । कार्यक्रममा भक्ति संगीततर्फ सच्चिदानन्द पौडेल तथा अर्चना विष्टले भक्ति संगीत प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रमको मध्यभागमा प्रसिद्ध चर्या नृत्य प्रस्तुत भएको थियो । डेनमार्कबाट आएकी कलाकार मारियाले चर्या नृत्य प्रस्तुत गरेकी थिइन् ।


कपनमा नियमित कार्यक्रम सञ्चालन गर्ने एकमात्र संस्थाको रुपमा परिचित कपन संगीत सरोवरका अध्यक्ष विसु कुमार के.सी. हुन् । त्यसैगरी यस संस्थाको संगीत संयोजकको रुपमा विनय वर्मा, परशुराम पौडेल र शशिविक्रम थापा क्रियाशिल रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।