कपन गाविसले विशेष कार्यक्रमसहित बृद्ध तथा अपाङ्ग भत्ता बाँड्यो
कपन गाविसले पछिल्ला केही समयदेखि सेवाग्राहीहरुका लागि सजिलोसँग सेवा प्रदान गर्ने काम थालेको छ । गाविसस्तरमा पहिलोपटक वेबसाइटसमेत निर्माण प्रकृयामा जुटेको कपन गाविसले वडादशैंको अवसर पारेर बृद्ध तथा अपाङ्ग भत्ता बाँड्ने विशेष कार्यक्रम आयोजना गरेको छ ।
कपन ३ स्थित बालउद्धार उच्च माविको प्राङ्गणमा भएको यस विशेष कार्यक्रममा गाविस भरीका सबै बृद्ध, विधुवा एवम् अपाङ्गहरुलाई भत्ता तथा सामग्री बाँड्ने काम गरियो । भत्ता प्राप्त गर्ने सेवाग्राहीको संख्या २८० थियो ।
कपन गाविसमा रहेका सबै सामाजिक व्यक्तित्वको उपस्थितिसहितको कार्यक्रममा जेष्ठ महिला तथा एकल महिलाहरुका लागि कपन गाविस र सुनौलो विकल्प महिला समूहको संयूक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रमसमेत आयोजना गरिएको थियो । निःशुल्क स्वास्थ शिविरमा २४० जनाले सेवा प्राप्त गरेका थिए ।
यस कार्यक्रममा महिला विकास कार्यालयबाट अपाङ्ग भएका २३ व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरिएको थियो ।
एउटै कार्यक्रममा धेरैभन्दा धेरै सेवा प्रदान गर्ने हेतुले आयोजित यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषबाट २ जनालाई बैशाखी, दुइजनालाई लौरो, ५ जनालाई क्रितिम खुट्टा, १८ जनालाई सेतो छडि, ५ जनालाई ह्विलचियर र ३२ जनालाई फिजियोथेरापीको सुबिधासमेत प्रदान गरियो ।