कृषि उपज सङ्कलन केन्द्रले बजारीकरण सहज

कपन अनलाइन 

मेलम्ची: सिन्धुपाल्चोकको दुवाचौर, बाँसखर्क र लागर्चे गाविसमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । गाविस तथा आसपासका क्षेत्रमा उत्पादन भएका कृषि उपज सङ्कलन गरी बजारीकरण गर्न ती गाविसमा सङ्कलन केन्द्र निर्माण गरिएको हो । लागर्चे–९ को त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था, दुवाचौर–९ खाल्टेखोलामा रहेको विष्णुलक्ष्मी कृषि सहकारी संस्था र बाँसखर्कमा रहेको हजुरको साना किसान कृषि सहकारीले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेका हुन् ।

दूध, मौसमी तथा बेमौसमी तरकारी, फलफूल, गलैँचालगायत उत्पादक वस्तु सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले सङ्कलन केन्द्र निर्माण गरिएको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष रामकृष्ण भट्टराईले बताउनुभयो । आत्मनिर्भर केन्द्र सिएसआरसी र केयर नेपालको रु नौ लाख २९ हजारको सहयोगमा सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

आत्मनिर्भर केन्द्रले रु पाँच लाख ६५ हजार, लागर्चे गाविसले रु एक लाख तथा सहकारीले रु दुई लाख ६४ हजार निर्माण कार्यका लागि सहयोग गरेका थिए । यस्तै विष्णुलक्ष्मी कृषि सहकारी संस्थाले दुवाचौर–९ केउरेनीमा बनाएको सङ्कलन केन्द्रका लागि रु पाँच लाख सहयोग गरेको आत्मनिर्भर केन्द्रका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत रामजीप्रसाद ढकालले जानकारी दिनुभयो ।

एसएचओ नेदरल्यान्डको आर्थिक सहयोग र केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाँसखर्क, दुवाचौर र लागर्चे गाविसमा सङ्कलन केन्द्र बनाउनका लागि रु १६ लाख ३० हजार सहयोग उपलब्ध गराएको थियो । भूकम्पका कारण क्षति भएका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय सञ्चालन तथा कृषि उपज सङ्कलनका लागि सहकारीको माग र गाविससँगको समन्वयमा केन्द्र निर्माण भएको हो ।
यस्तै हजुरको साना किसान कृषि सहकारी संस्थाले रु पाँच लाख ६५ हजारको लागतमा सङ्कलन केन्द्र निर्माण गरेको अध्यक्ष कमलमान दोङले बताउनुभयो । त्यसअघि भूकम्पका कारण भाडामा कार्यालय सञ्चालन गरिएको थियो । केउरेनी र खाल्टेखोलामा बनेको सङ्कलन केन्द्रको राष्ट्रिय सहकारी सङ्घका राष्ट्रिय अध्यक्ष केशव बडालले यही पुस ११ गते उद्घाटन गर्नुभएको थियो ।

विष्णु लक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष कोमल गिरीका अनुसार दुवाचौरमा २२३ जनालाई प्लास्टिक टनेल निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । संस्थाले बीउबिजन, कृषि औजार र थोपा सिँचाइ सेट समेत वितरण गरेको छ । सहकारीसँगको समन्वयमा गाविसस्तरमा समेत काम भइरहेको उहाँले बताउनुभयो ।

बाँसखर्क र दुवाचौरस्थित सङ्कलन केन्द्र्रमा सहकारीको कार्यालय सञ्चालन तथा कृषि उपज सङ्कलन हुनेछ । लागर्चेको खाल्डे खोलामा बनेको तीनकोठे भवनमा भने दूधसमेत सङ्कलन गरिने भएको छ । सङ्कलन केन्द्र बनेपछि किसानलाई डोकोमा बोकेर तरकारी बिक्रीका लागि बजारसम्म धाउनु पर्ने बाध्यता हटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख हिक्मतकुमार श्रेष्ठले बताउनुभयो । एसएचओ नेदरल्यान्डको आर्थिक सहयोग तथा केयर नेपालसँगको साझेदारीमा आत्मनिर्भर केन्द्रले जिल्लाको दुवाचौर, बाँसखर्क, बरुवा, भोताङ, लागर्चे र थकनी गाविसमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।