चुरे क्षेत्रमा अबैध रुपमा रुख कटानी

चुरे क्षेत्रमा अबैध रुपमा रुख कटानी

कपन अनलाइन 

मिन ठाकुरि 

धनगढी, २० पुस । कैलालीको चुरे क्षेत्रमा अबैध रुपमा वन कटानी हुन थालेको छ । चुरे क्षेत्रमा पर्ने सुगरखाल गाविसका विभिन्न स्थानमा सो कटानी भएको पाइएको छ ।
तराई क्षेत्रसँग जोडिएका चुरेफेदी क्षेत्रमा दिन प्रतिदिन हरिया रुख कटानी भई तस्करी हुन थालेको जानकारी आएको छ । चुरे क्षेत्रबाट हरिया रुख काटेर तस्करी भइरहेपनि ईलाका वन कार्यालय र जिल्ला वन मौन रहेको आरोप लगाइएको छ ।
सुगरखाल गाविसस्थित दूरदराजका वन क्षेत्रभित्र ठूल्ठूला हरिया रुख काटिएका फेद भेटिने गरेका छन् । वन क्षेत्रभित्रै तस्करहरुले आरा लगाएर हरिया रुख काट्ने गरेको बताइन्छ । तस्करहरुको डरले हरिया रुख काटेर तस्करी भइरहेको भन्ने विषयमा स्थानीयले जानकारी दिन सक्दैनन् । सुगरखाल गाविसमा पर्ने ढक्कने, बचैला, रानीवन, पथ्थरगढ, निगाली, बढीकासाई, फल्लेबिसौनाको तल्लापानी, आमगैरा लगायतका स्थानमा बढी रुख कटानी भइरहेको जनाइएको छ ।
सुगरखालस्थित १, २, ३, ७ र ९ मा सबैभन्दा बढी वन फडानी हुने वडा हुन् ।
सो क्षेत्रका दूरदराजका वनमा हरिया रुख काटेर तस्करी हुन थालेको जानकारी कतैबाट आफूलाई आएपछि त्यसको बारेमा बुझ्न ईलाका वन कार्यालय सुगरखालका सहायक वन अधिकृत धर्मनाथ यादवको नेतृत्वमा टोली त्यस तर्फ पठाइएको जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले बताए ।

 
चन्दले भने तीन दिनअघि रुख कटानी भइरहेको जानकारी मलाई आएको हो, त्यसको लगत्तै स्थलगत बुझ्न यादवको नेतृत्वमा टोली पठाएको छु । टोलीसँग सम्पर्क हुन नसकेकाले के भएको हो भन्ने विषयमा जानकारी लिन सकिएको छैन् जिल्ला वन अधिकृत चन्दले भने । म आफै अलमलमा परेको छु चन्दले भने त्यस क्षेत्रमा वन फडानी भएको हो या होइन भन्ने विषयमा टोलीसँग सम्पर्क हुन सके मात्र भन्न सकिन्छ ।

 
सुगरखाल ईलाका वन कार्यालयका सहायक वन अधिकृत धर्मनाथ यादवले सुगरखालका कुनै पनि क्षेत्रमा हरिया रुखहरुको कटानी नभएको दाबी गरे । म छ जनाको टोली सहित दुई दिनसम्म हरिया रुख काटिएका भनिएका क्षेत्रमा घुमे तर कही कटानी नभएको पाए सहायक वन अधिकृत यादवले दाबी गर्दै भने ।

 
सुगरखालको क्षेत्रफल ठूलो छ, जनशक्ति एकदमै न्यून छ यादवले भने सो क्षेत्रका सामुदायिक वनका पदाधिकारीसँग पनि सम्पर्क गर्दा कटानी नभएको जानकारी पाएको छु ।

तपाइँको प्रतिक्रिया ।