सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो

कपन अनलाइन 

कञ्चनपुर: सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।
आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो ।

राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन निर्माणका लागि आगामी आव २०७४÷०७५ को नीति तथा कार्यक्रममा समावेश गर्ने, शैक्षिक क्यालेन्डर बनाई पठनपाठनको कार्यलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे सहमति भएको विद्यार्थी गङ्गादत्त भट्टले जानकारी दिनुभयो ।

सहमतिपत्रमा विश्वविद्यालयका तर्फबाट उप–प्रशासक गोविन्द पन्त, विद्यार्थीका तर्फबाट गङ्गादत्त भट्ट, राजेन्द्रप्रसाद जोशी, राजेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतको भौतिक शास्त्रका विद्यार्थीले माग अघि सार्दै दुई साता अघि तालाबन्दी गरेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।