चुरेको वन नाप गरिने

चुरेको वन नाप गरिने

कपन अनलाइन

काठमाडौँ, १७ पुस । वन अनुसन्धान तथा सर्वेक्षण विभागले आव २०७३/०७४ मा चुरे पहाडमा रहेका ७०७ स्थायी नमूना प्लटमा वनको मापन गर्ने भएको छ । वनको अनुसन्धान र सर्वेक्षण गर्दै आएको विभागले चुरे क्षेत्रमा रहेका वनको अध्ययनका लागि वन मापन तथा अनुसन्धान गर्न लागेको हो । विभागले नेपालको भौगोलिक क्षेत्रलाई पाँच भागमा विभाजन गरेर गत आवदेखि प्रत्येक एक वर्षमा एउटा क्षेत्रको वनको मापन गर्ने गरी काम सुरु गरेको हो ।

विभागले नेपालमा रहेका दुई हजार ५४४ प्लटमध्ये तराईमा ३४०, चुरेमा ७०७, मध्यपहाडमा ८७३, उच्च पहाडमा ५५७ र उच्च हिमालमा ६७ क्षेत्र छुट्याएर वन मापन गरेको विभागका उपसचिव डा राजेन्द्र केसीले जानकारी दिए । “गत आवमा तराईमा रहेका वन क्षेत्रको १७५ सहित जम्मा ३४० प्लट नापेका थियौँ यो वर्ष ७०७ प्लट नाप्ने कार्यक्रम रहेको छ”–केसीले भनe । बजेटको सीमितताले गर्दा सम्पूर्ण प्लटमा अध्ययन सम्पन्न गर्न गाह्रो हुने उनको भनाइ छ ।

 

उनले प्रत्येक पाँच वर्षमा उक्त भौगोलिक क्षेत्रमा रुख बिरुवाको लम्बाइ र गोलाइ मापन गरिने र यसबाट वनको आयतन बढेको घटेको बारेमा जानकारी हुने बताए । यसले वनको समग्र नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विभागले समग्र वनको प्रत्येक दश वर्षमा मापन गर्ने निर्णय गरेपनि सन् १९६३ देखि हालसम्म जम्मा तीन पटकमात्र राष्ट्रिय वन गणना सम्पन्न गरेको छ ।

 

विभागले पहिलोपटक अमेरिकी सरकारको सहयोगमा सन् १९६३ देखि १९६७ मा, दोस्रो पटक अमेरिकाकै सहयोगमा सन् १९८७ देखि १९८८ सम्म र तेस्रोपटक सन् २०१० देखि २०१४ सम्म फिनल्याण्ड सरकारको सहयोगमा वन मापन कार्य सम्पन्न गरेको थियो । 

तपाइँको प्रतिक्रिया ।