एमालेमा पार्टी छाड्नेहरुको लर्को !
काठमार्डौ, १८ असोज : नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति तथा मधेसी नेता तथा कार्यकर्ताहरूले आज औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका छन् । अग्रगामी विचार समूहमा नामबाट गतिविधि सन्चालन गर्दै आएका उनीहरूले आज राजधानीको राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रम गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्ने नेताहरूमा एमालेमा उपाध्यक्ष रहेका अशोक राई, पोलिटब्यूरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा, अजम्बर काङमाङलगायतका रहेका छन् ।
यसैगरी रिजमान अन्सारी, गोपाल ठाकुर लगायतका मधेसी नेताहरूले पनि एमाले परित्याग गरेका छन् । अधिकार प्राप्तिको आन्दोलनमा एमाले बाधक बनेको, सङ्घीयता र पहिचानको मुद्दामा एमाले आफ्नो अडान छाडेको आरोप पार्टी छाड्नेहरूले लगाएका छन् । पार्टी छाड्ने नेताहरूले केही समयभित्रै समावेशी चरित्रको नयाँ शक्ति जन्माउने घोषणा गरेका छन् । सार्वजनिक कार्यक्रममार्फत् पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ताहरूको सङ्ख्या चारसयको हाराहारीमा रहेको बताइएको छ । यसैबीच, नेकपा एमालेले आफ्ना केही जनजाति नेताहरुले पार्टी छोडेको घोषणा गरेको लगायतका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न आजै पत्रकार सम्मेलन गर्दैछ । अहिले पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट केही जनजाति नेताहरुको माग र उनीहरुले पार्टी छोड्न लागेको बारेमा धारणा सार्वजनिक गर्न लागेको हो । भोलि राजधानीमा गर्न लागिएको जनप्रदर्शनको बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने सचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् ।