किसुनजीको ९३ औँ जन्मोत्सव, सन्त नेता भट्टराईको योगदानबारे चर्चा
कपन अनलाइन, ललितपुर, ८ पुस, २०७३
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रान्तीय र केन्द्रीय तहको निर्वाचनले मात्र संविधान कार्यान्वयनले पूर्णता पाउने बताए। उनले देशको सङ्क्रमणकाललाई टुङ्ग्याउन संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एकताबद्ध रुपले अघि बढ्नुपर्नेमा जोड दिए।
आम जनताको भावना समेट्ने गरेर संविधान संशोधनको प्रस्ताव आएकाले त्यसलाई संसद्बाट पास गराउनुको विकल्प नरहेको उनको जोड थियो । उनले निर्धारित समयभित्र देशले निकास पाउन नसके संवैधानिक सङ्कट आउन सक्नेमा चिन्ता व्यक्त गरे। उनले सन्त नेता भट्टराईले लिएको बाटोबाट प्रेरणा लिएर अघि बढ्नसकेमा देशले निकास पाउन सक्ने विश्वास व्यक्त गरे । नेकपा (एमाले का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सङ्क्रमणकालबाट जोगाउन संविधानको कार्यान्वयन र निर्वाचन सम्पन्न गराउनुको विकल्प नरहेको बताए। ओलीले बिनाशर्त सरकार निर्वाचनमा जान चाहेमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
“देशको रक्षा र हितका निमित्त सबै राजनीतिक दल एक हुनुको विकल्प छैन”– ओलीले भने । “निर्वाचन गराउने कानुन संसद्बाट पास गरौँ र देशलाई चुनावमा लैजाऔँ, यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ”– उनले थपे । उनले सन्त नेता भट्टराई पदभन्दा माथिको व्यक्तित्व रहेको बताए। देशमा ठूलाठूला परिवर्तन ल्याउन भट्टराईको अतुलनीय योगदान रहेको उनले चर्चा गरे ।
काँग्रेस नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा संविधानको कार्यान्वयन र रक्षा गर्नु सबैको जिम्मेवारी भएको विचार व्यक्त गर्नु भयो । सन्त नेता भट्टराईले लिएको लक्ष्यलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा काँग्रेस नेता सिंहले जोड दिए । संस्कृतविद् डा जगमान गुरुङले देशलाई बिखण्डनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले प्राज्ञिक र राजनीतिक वर्ग मिलेर देशलाई सङ्क्रमणकालबाट मुक्त गराउनुपर्ने धारणा राखे । प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता किसुनजीले लिएका बाटोलाई पहिल्याएर अघि बढ्नसके देश सङ्क्रमणकालबाट मुक्त हुनसक्ने बताए ।
(फोटो:राजु श्रेष्ठ)