१५ वर्षिया बालिकाको छाउपडी गोठमै मृत्यु
कपन अनलाइन, पौष ३, २०७३
अछामबाट एकेन्द्र महता रिपोर्ट ——————————————————————
एकबर्ष अघि छाउपडी गोठमुक्त घोषणा गरिएको अछामको गाज्रा गाविसमा छाउगोठमा बसेकी एक बालिकाको ज्यान गएको छ । गाज्रा गाविस–७ निवासी भरत तिरुवाकी १५ बर्षिय छोरी रोशनी तिरुवाको ज्यान गएको हो । शनिबार बेलुकी ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी आइतबार बिहान सात बजेसम्म नउठेपछि उनका बुवाले ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा फेला परेकी हुन् । झ्याल नभएको र भित्र आगो बालेको कारण निस्सासिएर रोशनीको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको घटनास्थलबाट प्रहरी इनिष्पेक्टर तथा अछाम प्रहरी प्रवक्ता बद्रीप्रसाद ढकालले जानकारी दिए ।
इनिस्पेक्टर ढकालले मृतकको शरिरमा कुनै चोटपटक नलागेको समेत बताए । मृतक रोशनीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । गाज्रा गाविसमा रहेका सबै महिला तथा किशोरीहरु महिनावारी भएका बेला सुरक्षित रुपमा घरमै बस्न थालेको भन्दै अघिल्लो बर्ष छाउपडी गोठमुक्त गाविस घोषणा गरिएको थियो । गएको मंसिर महिनाको ४ गते राती तिमिल्सेन गाविसकी २६ बर्षिय डम्बरा उपाध्यायको छाउगोठमै मृत्यु भएको थियो । सन् २००७ देखी हालसम्म अछाम जिल्लामा महिला तथा किशोरी गरी जम्मा ९ जनाकोे छाउपडी गोठमै ज्यान गइसकेको छ ।
महिनावारी भएका बेला घरबाट टाढा, साँघुरो, हावा नछिर्ने कटेरोमा कष्टपुर्ण बसाइले महिलाहरुको ज्यान गइरहेको छ । अछाममा हाल नगरपालिकामा गाभिएका सहित ३२ गाविस र गाविसका केही वार्डहरु छाउपडी गोठमुक्त भइसकेका छन् । अहिलेपनि अछाम जिल्लाका विभिन्न गाविसहरुमा छाउपडी कुरितीका विरुद्धमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । अघिल्लो महिनामा डम्बराको मृत्युपछि प्रधानमन्त्रीले समेत विशेष चाँसो लिएर अछाम जिल्लामा छाउपडी कुरितीका विरुद्धमा सघन रुपमा कार्यक्रम तयार पार्न भनि प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिइएको थियो ।