हिउँदमा पनि हिलाम्मे अछाम सदरमुकाम
कपन अनलाइन, २ पौष, अछाम/एकेन्द्र महता /२०७३
अछाम सदरमुकाम मंगलसेन बजार क्षेत्रको अब्यावस्थित र हिलाम्य सडकले हिउदमा पनि नागरिकलाई वर्षायाम जस्तै सास्ती भैरहेको छ । बजारक्षेत्रको ढलको पानी महिनौ अघिदेखि हालसम्म पनि सडकमै बग्दा बजार दुर्गन्धित हुनुका साथै हिडडुल गर्न र सवारी साधन चलाउन निक्कै समस्या भएको हो ।
बैरागीधारा क्षेत्रमा मुहानको पानी सडकमा बग्दा पोखरी जस्तै पानी जम्मा भएको छ भने जिल्लाको प्रमुख विकासे अड्डा जिविस अगाडी नालीमा बग्ने दुर्गन्धित पानी सडकमा जम्मा भएको छ । जसले गर्दा सडक कुनै ठाँउमा पोखरी जस्तो त कुनै ठाँउमा खोला जस्तै भएको छ । जुनसकै कामका लागि पनि बजार क्षेत्रमा जाँने र जिल्ला विकास छिर्ने ब्याक्तिलाई जिविस अगाडीकै हिलाम्मे पोखरीले स्वागत गर्ने गर्दछ । जिविस अगाडी जिविस भवनकै प्रतिबिम्व देखीने गरी पोखरी बनेको छ । सडकको यो अवस्थाले जो सुकैलाई आजित बनाएको छ । मान्छेको बाक्लो ओहोरदोहोर हुने बजारको सडकको हिलाम्मे पोखरीमा कयौं पटक बटुवाहरु चिप्लिएर लडेका छन भने सवारी साधनहरु पनि चिप्लिने गरेका छन । यो अवस्था आँउनुको प्रमुख कारण बजार क्षेत्रको सडकमा निर्माण भएको साँघुरो र अब्यावस्थित नाली हो ।
बजार क्षेत्रको सडकमा पटक पटक नाली निर्माण गरिएपनि स्तरीय नहुंदा वर्षेनी नागरीकहरुले सास्ति खेप्नु परेको छ । नालीको फोहोर पानी सडकमा पस्दा आवत जावतमा समस्या हुनुका साथै ठाँउ ठाँउमा देखीने पानीका खाल्टा र खोलाजस्तै दृश्यले सदरमुकामको सुन्दरता नै हराएर स्थानिय बताँउछन । जिविस अगाडीको हिलाम्मे सडकको दृश्यले बर्षायामको झल्को दिने गरेको नजिकै ब्यावसाय गरिरहेका कासीराम जैशीले बताए । सदरमुकाम मंगलसेनको मुख्य सडकको यस्तो अवस्था हुदा पनी सम्बन्धित सरोकारवालाको ध्यान नजानु दुखद भएको उनको भनाई छ । उक्त सडकमा गुड्ने सवारी साधनले फाल्ने हिलोले छेउ छाउमा ब्यावसाय गर्दै आएकाहरुलाई हैरान बनाएको छ ।
सडक ब्यावस्थित बनाउन तर्फ कहिँ कतैवाट पनि पहल भएको पाईदैन । नालीको पानी सडकमा गएपछि त्यस बाट फैलीएको दुर्गन्धले पसलमा बसेर काम गर्न पनि समस्या हुने गरेको अर्का ब्यापारी नम राज न्यौपानेले बताए । जिल्ला सदरमुकामको सकडको दुराअवस्था हुदापनी सम्बन्धीत निकाय जिविस, नगरपालिकाले ध्यान नदिएको भन्दै न्यौपानेले आक्रोस पोखे । उक्त सडकको अवस्थालाई दर्शायर पत्रकार टेक बहादुर थापाले देउडा लयमा आफ्नो फेसबुक वालमा स्ट्याटस लेखेका छन, जिविसका कि राठाउदो पानीको छ खाल, मान्छे पुणा पाल्ला पड्डा क्या हो यसो चाल ? उनले भनेजस्तै जिविस भवनकै अगाडी हिउदमा पनि बर्षायामकै जस्तो हिलो हुनु र सबै सरोकारवाला मौन रहनु गैर जिम्मेवारी हो ।
मंगलसेन बजारकै यस्तो दुरावस्था देखेर पनि लाज पचायर बस्ने विकासे अड्डा र सामाजिक अगुवाहरुलाई सडकको यो हालतले जिस्काईरहेको छ । बजार क्षेत्रको सडक सुधारका लागि यस अगि पनि बेला बखतमा सडकमै रोपाई गर्ने देखी सम्वन्धित निकायमा ज्ञापनपत्र दिने जस्ता कार्य पनि भएका हुन तर दीर्घकालीन सोचका साथ योजना बनाएर सदरमुकामलाई ब्यावस्थित बनाँउने तर्फ कसैको ध्याँन नजाँदा यस्तो अवस्था आएको स्थानिय बताँउछन । बजार क्षेत्रको सडक सुधारका लागि सहरि विकास र नगरपालिकावाट हरेक वर्ष बजेट बिनियोजन भई काम हुने गरेको भएपनि गुणस्तरीय र प्रभावकारी रुपमा काम नहुंदा पनि यो अवस्था आएको हो । सबैतिरवाट आलोचना भएपछि केही दिन अघिमात्रै जिविसका प्राविधिकले उक्त सडकमा फिता लगाएर नापेको देखिएको तर ठोस कदम नचालीएको स्थानिय होटल ब्यावसायि सरोज भण्डारीले बताए ।
यता जिल्ला विकास समिती अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझिले भने बजारको ढल ब्यावस्थापनको मुख्य जिम्मेवारी नगरपालीको हुन आँउने तर जिविस अगाडीनै यस्तो अवस्था हुंदा जिविस पनि जिम्मेवारीवाट उम्किन नपाउने बताए । यो धेरै ठुलो समस्या नभएको तर जिम्मेवार निकायले ईच्छाशक्ति नदेखाँउदा यो अवस्था आएको माझिको भनाई छ । बजार क्षेत्रको सडकको यो अवस्था आँउनुमा नागरीकको पनि उत्तिकै दोष रहेको उनले बताए । उनले भने “मैले बजारका कयौं ठाँउमा देखेको छुं घरको फोहोर पानिका पाईप पनि सडकमै लगाईन्छ, कतिसम्म भने लुगा धोएको पानी पनि सडकमै फाल्छन स्थानिय पनि ।” यसैविच मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैशी (ढुंगाना) ले भने उक्त सडकको अस्तब्यस्त अवस्थालाई ब्यावस्थापन गर्नका लागि प्रक्रिया अगाडी बढाईएको बताए । पछि टेण्डर गर्ने गरी तत्कालका लागि नालीको पानी र हिलाम्मे अवस्थालाई सुधार गर्नका लागि काम गर्ने मान्छे खोजीरहेको उनले प्रतिक्रिया दिए । तर बाह्रै महिना यसरी हिलाम्य सडकमा ओहोर दोहोर गर्ने स्थानियले भने यसको दीर्घकालिन समाधान खोजेका छन र जिल्ला सदरमुकाम सफा सुघ्घर र सुन्दर भएको देख्ने चाहना राखेका छन ।