१० करोडको कारोबार गर्दै ११ औं संस्करणको सुदूरपश्चिम महोत्सव सकियो
कपन अनलाइन, पुस २, धनगढी/ मिन ठकुरी/२०७३
मंसिर २२ देखि पौष २ गते सम्म आयोजना भएको सुदूरपश्चिम महोत्सव–२०७३ शनिबार सम्पन्न भएको छ । ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ मूल नारा सहित ११ औं संस्करणको रुपमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको क्षेत्रीय महोत्सवको अन्तिम दिन १० लाख रुपैयाँको टिकट विक्री भएको कैलाली उद्योग बाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुवँरले जानकारी गराए ।
मंसिर २२ देखि सुरु भएको महोत्सव पौष २ गतेसम्म आइपुग्दा २ सय ६३ स्टल मार्फत साढे १० करोडको व्यावसायिक कारोबार, ७० लाख भन्दा बढीको टिकट विक्री तथा झण्डै पाँच लाख दर्शकले महोत्सव अवलोकन गरेको कुवँरले जानकारी गराए । संघले यस वर्षको महोत्सवलाई ‘लगानी दशक अभियान’ को शुरुवातका रूपमा घोषणा गरेको थियो । सुदूरपश्चिमको तीब्र आर्थिक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र गैरआवासीय नेपालीलाई लगानीका लागि आकर्षित गर्न महोत्सवलाई मञ्चका रूपमा उपयोग गरिएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए । उनले लगानी दशक अभियानलाई महोत्सवले बलियो बनाएको धारणा व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष दिनेश भण्डारीले ‘लगानी दशक अभियान’ ले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘राज्यको कुल बजेटमध्ये सुदूरपश्चिमका लागि करिब आठ प्रतिशतमात्र हिस्सा हुने गरेको छ’ उनले महोत्सवमार्फत सरकारमाथि सुदूरपश्चिममा विकास बजेट बढाउन दबाव सिर्जना गरेको बताए ।
संघका महासचिव रुपेश स्वारले सुदूरपश्चिमको विकासका लागि कृषि, पर्यटन, जडिबुटी, जलस्रोत र पूर्वाधारमा लगानी बृद्धि आवश्यक भएको बताए । महासचिव स्वा“रले लगानी दशक अभियानबाट विदेशी र स्वदेशी लगानीकर्तालाई विभिन्न कार्यक्रमको आयोजना गरेर लगानी गराउन आकर्षित गरिने बताए । सुदूरपश्चिममा अरु क्षेत्रको तुलनामा लगानीका लागि बढी सुरक्षित र उपयुक्त वातावरण रहेको संघको विश्वास छ ।
महोत्सवको शनिबार भव्य कार्यक्रमकाबीच समापन गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै कैलाली क्षेत्र नं. ६ का सभासद् पुष्करनाथ ओझाले सुदूरपश्चिमको आर्थिक विकासका लागि यहाँको नीजि क्षेत्रले खेलेको भूमिका नेपालमै नमूना रहेको बताए ।
नीजि क्षेत्रले अघि सारेका मागहरुका विषयमा आफ्नो पार्टीले विशेष रुपमा पहल गर्ने बताउँदै सभासद ओझाले जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार तथा जडीबुटी नै सुदूरपश्चिम विकासका मूल आधार भएकाले यस पटक आयोजना गरिएको ११ औं संस्करण सुदूरपश्चिम महोत्सवले यिनै विषयबस्तुहरुलाई आधार मानेर लगानी दशक सुदूरपश्चिमको रुपमा अघि बढेकोमा आयोजक कैलाली उद्योग बाणिज्य संघलाई धन्यवादन गरे ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारी, पुर्व बरिष्ठ उपाध्यक्ष राजेश भण्डारी, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह लगायत विभिन्न पार्टीप्रतिनिधहरुले महोत्सव सफल रुपमा सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।