गगन थापा टोलटोलमा सांसद कार्यक्रम लिएर नक्साल चारढुंगे पुगे

कपन अनलाइन, २ पौष, २०७३
काठमाडौं क्षेत्र नं ४ का सांसद तथा स्वास्थ्य मन्त्री गगन थापाले शुरू गरेको टोलटोलमा सांसद कार्यक्रमअन्तर्गत आज कामनपा वडा नं १ नक्साल, चारढुङ्गेमा सम्पन्न भएको छ । टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष भेट्ने कार्यक्रम अन्तर्गत हरेक शनिवार क्षेत्र नं ४ भित्र भेटघाटमा सरिक हुने कार्यक्रमबीच आज बिहान थापा चारढुङ्गे आइपुगेका हुन् ।
चारढुङ्गेवासीले भूकम्प पछिको पुनर्निर्माणमा आफूलाई समस्या भएको गुनासो आफ्ना सांसदसँग गरेका छन् । सरकारले दिने २ लाखले कोठा भाँडा नै तिर्न नपुग्ने भएकाले घर भत्काउन समस्या भएको जनताको गुनासो थियो । महानगरपालिका वडा १ का जनताले सरकारको निश्चित मापदण्ड थाह नहुँदा घर भत्काउँदा धेरै कम जमिन भएकाले फेरि घर बनाउन पाइने हो कि हैन भन्नेमा अन्यौलमा रहेको कुराले सताएको बताएका छन् ।
चारढुङ्गेबासीको गुनासोलाई सम्बोधन गर्दै सांसद तथा स्वास्थ्य मन्त्री गगन थापाले ऋण पाउने २५ लाख प्राप्त गर्न जटिल भएकाले घर बनेपछि लाग्ने भाडालाई आम्दानीको स्रोत मानेर, घर बन्ने जग्गा र बनेको घरलाई नै धितो राखेर बैंकले लोन दिने व्यवस्था गर्न गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यस विषयमा  छिट्टै सम्बन्धित निकायसंग छलफल गर्ने थापाले बताए । कार्यक्रममा सहभागिहरूले  प्राइभेट हस्पिटलमा १० प्रतिशत बेड अपांग, बिपन्न लगायतकालाई सुरक्षीत गर्ने व्यवस्थालाई कार्यान्वयन गराउन सफल भएकोमा थापालाई बधाई दिँदै आगामी दिनमा  मन्त्रीका हैसियतमा यस्तै जनसामान्यलाई हित हुने काम गरेर देखाउन शुभकामनासमेत दिएका छन् ।
(तस्वीर: रोहित पौडेल)
तपाइँको प्रतिक्रिया ।