शिक्षकलाई कर्तव्य नभुल्न शिक्षामन्त्रीको आग्रह
कपन अनलाइन, काठमाडौँ, १६ मङ्सिर ।
शिक्षामन्त्री धनीराम पौडेलले शिक्षकले आफ्नो अधिकार प्राप्तिको आवाज उठाइरहँदा कर्तव्य पनि स्मरण गर्न आग्रह गर्नुभएको छ ।
नेपाल शिक्षक महासङ्घको आज यहाँ आयोजित ‘विधान सम्मेलन’मा सामुदायिक विद्यालयको स्तर खस्कनुमा शिक्षक नै जिम्मेवार रहेको चर्चा गर्दै उहाँले भन्नुभयो – “ शिक्षक बर्गले लोकतान्त्रिक र पेसागत अधिकारको लडार्ईंमा आफूलाई अब्बल बनाएका छन्, योसँगै अब शिक्षाको गुणस्तर वृद्धिको कर्तव्यमा लाग्न आवश्यक छ ।”
ग्रामीण भेगबाट विद्यार्थी सहरका विद्यालयमा आउने क्रम बढ्नु चिन्ताजनक भएको छ भन्दै मन्त्री पौडेलले शिक्षकले आफ्नो पेशागत इमान्दारिता भुलेर यस्तो भएको त होइन भन्ने प्रश्न गर्नुभयो ।
उहाँले नयाँ शिक्षा नियमावली अर्थमन्त्रालयमा पठाइएकाले चाँडै जारी हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले शिक्षक विद्यालयको सुधारक मात्र नभई समाजकै सुधारक भएकाले त्यो भूमिका निर्वाहका लागि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षकका पेसागत मागसधै बल्झिरहने स्थितिमा शिक्षाको सुधार हुन नसक्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकलाई अधिकारसँगै आफ्नो कर्तव्यबारे राम्रोसँग थाहा छ भन्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तथा सार्क शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले पेसागत आन्दोलनका सन्दर्भमा नेपाली शिक्षक दक्षिण एसियामै उदारहणीय रहेको टिप्पणी गर्नुभयो ।
गत वर्ष नेपाल शिक्षक युनियनबाट रुपान्तरित भई १७ वटा घटक आबद्ध महासङ्घको पहिलो विधान सम्मेलन दुईदिन चल्नेछ । रासस