एमालेलाई निर्वाचनमा मनाउने पहल

कपनअनलाइन, १६ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा जानका लागि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)समक्ष प्रस्ताव गरेका छन् ।संविधान संशोधन विधेयक दर्तापछि कित्ताकाटको अवस्थामा पुगेका प्रमुख दलको बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनको कुरा गरेका हुन् । बुधबार साँझ प्रधानमन्त्री दाहालको आह्वानमा सिंहदरबारमा नेपाली कांग्रेससहित एमालेलगायत दलका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

एमाले उपाध्यक्ष भीम रावलले बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनको कुरा गरेको जानकारी दिए । “उहाँले स्थानीय निर्वाचनमा जाने विषयमा कुरा राख्नुभयो । हामीले त्यसमा सकारात्मक नै छौं भनेका छौं,” नेता रावलले कारोबारसँग भने, “तर, साँच्चै सरकारले निर्वाचन गराउनै चाहेको भए संशोधन प्रस्तावअगावै कुरा गर्नुपथ्र्यो । किन गर्नुभएन भनेर हामीले सोध्यौं ।”

एमालेले तराई–मधेसकेन्द्रित दल सहभागी नभए निर्वाचन कसरी गर्ने भनेर जिज्ञासा राखेका थिए । “मधेसी मोर्चा सहभागी नभए पनि स्थानीय निर्वाचन गराउँछु । तपाईंहरू तयार हुनुप¥यो,” प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने बताएका थिए । दाहाल मोर्चाबिनै पनि र देउवा मोर्चालाई मनाएर निर्वाचनमा जानुपर्नेमा देखिएपछि एमालेले पहिला सत्तारुढको धारणा तय गर्न सुझाव दिएको रावलले सुनाए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्री भएलगत्तै आगामी चैतमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म निर्वाचनका लागि आवश्यक ऐन–कानुन नबन्दा निर्वाचन आयोगको काम प्रभावित भइरहेको छ । ०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश गरी केन्द्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया ।