अब देश निर्वाचनतर्फ अघि बढ्यो ः प्रधानमन्त्री

अब देश निर्वाचनतर्फ अघि बढ्यो ः प्रधानमन्त्री

कपन अनलाइन, काठमाडौँ, १५ मङ्सिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताउनुभएको हो ।

“हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ,” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा भएको उल्लेख गर्दै संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।

“प्रमुख प्रतिपक्षी नेकपा(एमाले) पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

सङ्घका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेत्रीको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।