गुरु नानकका सम्मानमा सद्भावयात्रा
कपन अनलाइन ,काठमाडौँ, ४ मङ्सिर ।
शिख धर्मका प्रवत्र्तक गुरु नानक नेपालमा आएको ५०० वर्ष पुगेका अवसरमा गुरु नानकदेव सेवा सोसाइटीले आज यहाँ सद्भावयात्रा आयोजना गरेको छ ।
शिख धर्मका प्रतिनिधि समेत सहभागी पदयात्रा बिहान थापाथलीबाट सुरु भई बालाजु पुगेर समापन भएको थियो । पदयात्रामा मलेसिया, बेलायत र क्यालिफोर्नियाबाट पनि प्रतिनिधि आएको सोसाइटीका नेपाल संयोजक तथा पशुपतिस्थित निर्मल अखडाका महन्थ स्वामी गोकुलानन्दले बताउनुभयो ।सो अखडाले पशुपतिमा हुने दैनिक शिर पूजाका लागि माला तयार गर्नाका साथै हरेक बिहान करिब तीन सय असहाय र साधुलाई निःशुल्क भोजन गराउँदै आएको छ । यही मङ्सिर ८ देखि १० सम्म पशुपतिस्थित सुमार्गी भवनमा गुरु नानकको प्रवचन तथा सम्मान कार्यक्रम पनि गरिने छ ।
मल्लकालमा वनारसबाट गुरु नानक नेपालमा आई ११ महिना बिताउनुभएको थियो । हरेक कात्तिक पूर्णिमामा विश्वव्यापी रुपमा उहाँको जन्मजयन्ती मनाइन्छ । सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पन्जाबमा जन्मनुभएका गुरु नानकको सन् १५३९ सेप्टेम्बर २२ मा कर्तारपुरमा निधनभएको थियो । एक मात्र ईश्वरमा आस्था राख्ने शिखधर्मले सत्यपूर्ण जीवन, मानवताबीच समानता, सामाजिक न्याय तथा रुढिवाद र तथा अन्धधार्मिक क्रियाकलापको विरोध गर्न सिकाउँछ । रासस