शुभकामनाको छन्दगान ! तिहार/दीपावली- कवि नारायण नेपाल

कपन अनलाइन, कात्तिक १४, २०७३

नारायण नेपाल चिनिएका कवि तथा गलजकार हुन् । उनी गद्य र पद्य दुवैमा कलम चलाउन सक्ने रचनाकार हुन् । उपन्यास तथा काथाकारितामा पनि दख्खल राख्छन् नारायण नेपाल । नेपालीहरूको महान् पर्व तिहारका अवसरमा कवि नेपालले लेखेको यो सान्दर्भिक कविता । अंग्रेजी भाषामासमेत कलम चलाउने  कवि नेपालले यस कवितालाई शुभकामना छन्दगान भनेका छन् ।

narayan-nepal

तिहार/दीपावली

-नारायण नेपाल

नेपाल रम्ने परिवेश आओस्,

सम्पूर्णमा देश विकास पाओस् !

बाजा अनेकौँ तर गीत यौटै,

यो देश बोक्ने सह-प्रीत यौटै !

सँस्कार यस्तो कहिलै नजाओस्,

नेपाल रम्ने परिवेश आओस् !

पाखा-पखेरा-छहरा ठिकै हुन् !

खानी-बुटी-साधन ती निकै हुन् !

भूगोलले भाव यही समाओस्,

संसार ‘नेपाल’ सदैव गाओस् !

सम्पूर्णमा देश विकास पाओस्,

नेपाल रम्ने परिवेश आओस् ।

(यो देशमा नित्य सुशान्ति छाओस्!)

तपाइँको प्रतिक्रिया ।