आज महानवमी पर्व, चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेको दिन

आज महानवमी पर्व, चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेको दिन

d040a719-45fd-44ce-adae-4d1d5a1772f6_800

कपन अनलाइन,  २४ असोज, २०७३

आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

talaju
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

आजका दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। कन्या पूजाका बारेमा देवीभागवत्मा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पुज्नुहुँदैन। चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पुज्नुहुँदैन। रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पुज्नुपर्दछ आदि।

तपाइँको प्रतिक्रिया ।