‘पागल’ भन्नेलाई दिल्लीमा पुरस्कार
कपन अनलाइन /१२ साउन/काठमाडौं ।
ओली सरकारले जातेजाते ‘कहीं पे नजर, कहीं पे निशाना’ भनेझैं एउटा तीरले दुई वटा शिकार गरेको छ । एकातिर मनमोहन अधिकारीका नाममा खुलेको अस्पतालसम्बन्धी लफडा टुंग्याई यही निहुँमा आठौं चोटी भद्र अवज्ञा गरिसकेका डा। गोविन्द केसीको अनसन टुटाइएको छ भने वक्तव्य नै निकालेर उनलाई ‘पागल’ घोषित गर्ने एकजना सहसचिवलाई पुरस्कारस्वरुप दिल्लीस्थित दूतावासमा पठाइँदैछ ।
केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग पहिलोपटक यसैपाली तेस्र्याएका थिए । यसैको प्रतिक्रियास्वरुप उनलाई ‘पागल’ घोषित गरिएको हो । संवैधानिक अंगको तर्फबाट त्यसरी विज्ञप्ति जारी गर्ने कृष्णहरि पुष्कर अख्तियारका प्रवक्ता हुन् । मधेशी मूलका फूर्तिला युवा कृष्णहरिले दुई दिनमै ब्याकडेट राखेर क्याबिनेटबाट दिल्ली जाने अवसर पाएका छन् । दिल्लीमा अर्थ मन्त्रालयबाट इकोनोमिक काउन्सिलरको नाममा प्रतिनिधि पठाउने प्रचलन छ । सोहीअनुसार खिलराज रेग्मीको पालामा गएका ढुण्डीराज पोखरेलले अघिल्लो महिनाको २३ गतेसम्म दिल्लीमा ३ वर्षे कार्यकाल बिताएर नियमित अवकाश पाएका थिए । मकवानपुरमा सिडिओ र वैदेशिक रोजगार विभागको महानिर्देशक रहिसकेका पुष्करलाई ओली सरकारले दिल्ली पठाउन लागेको हो ।
यसबीच, दुईसाताअघि दिल्लीमा हाम्रा दुई कूटनीतिज्ञले कुर्सी हानाहान गरेपछि ती दुवैको स्पष्टीकरणप्रति चित्त नबुझेर सरकारले न्यूयोर्क मिसनबाट फर्किएकी पाकिस्तानको निम्ति राजदूतमा प्रस्तावित सेवा लम्साललाई त्यसतर्फ पठाएको छ ।
कार्यवाहक राजदूत कृष्ण ढकाल र उपसचिव हरि ओडारीबीच एकाबिहानै झडप हुँदा कृष्ण पन्त र गणेश अधिकारीले छुट्याउनु परेको थियो । लम्साल कुस्ताकुस्ती गर्ने यी दुवैलाई कि मिली बस्नु कि दुवैजना नेपाल फर्कनु भनी सम्झाई बुझाई शुक्रबार नेपाल आइपुगेको बताइन्छ । उता अमेरिकी सरकारको सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज नामक एउटा परियोजनामा मासिक अढाई लाख खाने गरी सरकारले बुटवलका सूर्य आचार्यलाई पठाउन लागेको छ । जनआस्था साप्ताहिकले समाचार लेखेको छ ।