दिल्ली दूतावासमा कुर्सीले दनादन

दिल्ली दूतावासमा कुर्सीले दनादन

कपन अनलाइन, २९ असार, २०७३/

नेपाल–भारतबीच बिग्रिएको सम्बन्ध सामान्यीकरणको दिशातर्फ उन्मुख हुँदै गरेका बेला यस्तो काममा झन् बढी सक्रिय रहनुपर्ने हाम्रा कूटनीतिज्ञचाहिँ आपसमै ‘कारगिलको लडाइँ’ मच्चाउन थालेका छन् । दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएपछि दिल्लीमा नयाँ राजदूत नियुक्त भइसकेका छैनन् ।

सह–सचिव कृष्ण ढकालले कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका छन् । उनैलाई सघाउन अघिल्लो महिना उपसचिव हरि ओडारीलाई तीन महिने काज खटाइएको छ । तर स्वभावमा दुवै कडा, एक अर्कालाई नटेर्ने । यसैको उत्कर्षस्वरूप गत शुक्रबार यी दुईबीच ‘तँ तँ–म म’ र कुर्सी हानाहानको स्थिति आइलागेको हो ।

बाराखम्बा रोडस्थित दूतावास भवनभित्र कार्यवाहक राजदूतको निवासकै बरन्डामा बिहान दुई कर्मचारीबीच विवाद चर्कंदै जाँदा ‘कुटाकुट’सम्मको स्थिति उत्पन्न भएको हो । साँस्कृतिक मामिला हेर्ने उपसचिव कृष्ण पन्त र द्वितीय सचिव गणेश अधिकारीले नछुट्याएको भए त्यसदिन साह्रै अप्रिय घटना हुने थियो । एकअर्काले कुर्सी उठाएर ताक्ने र अपशब्द बोल्नेसम्मको स्थिति सिर्जना हुनुका पछाडि पोहोर वैशाखको त्यही अप्रिय भूकम्प र राहतस्वरूप संकलित सामग्रीसम्बन्धी मुद्दा कारक थियो । प्राप्त जानकारीअनुसार ती सामग्रीमध्ये कतिपय दूतावासमै थुप्रिएर रहेका थिए । नेपाल पठाइसकिएको थिएन । ओडारीले त्यहींबाट काम थाल्न खोज्दा ढकाल सन्किएका हुन् ।

काठमाडौंको काम सकेर भर्खरै दिल्ली फर्किएका कार्यवाहकले जसै यस कुराको सुइँको पाए, ‘मलाई नसोधी गर्ने ?’ भन्दै पड्किन थालिहाले । यही विषयमा चर्काचर्की बढ्दै जाँदा हात हालाहाल र कुर्सी उठाउने अवस्था आइलागेको हो । घटना एउटा तर यसबारे दुवैका फरक फरक प्रस्टीकरण मन्त्रालयमा आइपुगेका छन् । परराष्ट्रले आफ्नै च्यानलमार्फत वास्तविकता बुझ्दै गरेको बताइन्छ ।  वर्ष २२, अंक १९, २०७३ साल असा २९ गते बुधबारको जनआस्था साप्ताहिकले खबर छापेको छ ।  

तपाइँको प्रतिक्रिया ।