गाउँघरका बालबालिका सामाजिक कार्यमा बढी अग्रसर छन्

बेलिनी बजार आसपासका खोलाखोल्सा र बाटोघाटो खुला रूपमा गरिएका दिसापिसाबका कारण हिँड्न सक्ने अवस्थामा थिएनन् । केही शिक्षक र सरकारी कार्यालयमा बाहेक कसैका घरमा शौचालय थिएन । जब यहाँ बाल क्लब गठन भयो, खुला ठाउँमा दिसापिसाब गर्नेको निगरानी गर्ने जिम्मा बाल उसलाई दिइयो । खुला ठाउँमा फोहोर गर्नेलार्ई सिट्ठी बजाउने, त्यतिले पनि नमानेमा सार्वजनिक ठाउँमा दिसा गरिरहेको फोटो टाँस्ने नियम बनाइयो । नियमित निगरानीले खुला दिसा गर्ने क्रम रोकिँदै गयो ।

बालबालिकाकै प्रयास र सबै पक्षको सहकार्यका कारण अहिले मकवानपुर जिल्लाको नामटार गाविसको वडा नम्बर–२ नै खुला दिसामुक्त क्षेत्र घोषित भइसकेको छ । २०६४ वैशाखमा जनहित सामुदायिक बाल क्लब गठन भए पछि बालबालिका सामाजिक काममा लागेका हुन् । यो काममा उनीहरुलाई प्लान इन्टरनेसनल  र यसको साझेदार संस्था राडो नेपालले सघाएको हो ।

स्थानीय युवा राजेन्द्र थिङ भन्छन्, “नामटाको २ नम्बर वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बालबालिकाले नै नेतृत्वदायी भूमिका खेलेका हुन्, उनीहरुको यो कदम स्वागतयोग्य छ ।” अहिले बाल क्लबका भाइबहिनीले गाविससँगको साझेदारीमा ड्रम किनेर वरपरको फोहोरमैला जम्मा गर्ने सार्वजनिक कन्टेनर निर्माण गरेका छन् । हप्ता–हप्तामा त्यसलाई उचित ठाउँमा लगी उचित व्यवस्थापन गर्ने गरेका छन् । भाइबहिनीहरुको यो सक्रियता निरन्तर चलिरहोस् ।

तपाइँको प्रतिक्रिया ।