एमालेआवासीय बैठक: गुट, विवाद र महत्वाकांक्षा !!!

एमालेआवासीय बैठक: गुट,  विवाद र महत्वाकांक्षा !!!

13578624_10208897808716702_157944819_n

कपन अनलाइन, १७ असार, २०७३

एमाले क्षेत्र नं. ४ ले आयोजना गरेकोे आवासीय स्वरुपको कार्यक्रम यतिखेरर लप्सीफेदीको एक रिसोर्टमा आयोजना भैरहेको छ । नयाँ क्षेत्रीय समिति बनेपछि औपचारिक बैठकसम्म नबसेको अवस्थामा आयोजना गरिएको यो कार्यक्रमले एमालेभित्रको गुटगत राजनीतिलाई बढावा दिएको आरोप लागेको छ । कतिपय चिनिएका नेता तथा कार्यकर्ता यो कार्यक्रममा भाग लिएका छैनन् भने आज भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीले कार्यक्रममा उपस्थित नहुनेहरुलाई कटाक्ष गर्न भ्याएका छन् । ओली र माधव नेपाल पक्षबीचको हानाथापमा गत २ महिनाअघि भएको अधिवेशनमा तमाम अड्कल तथा तथ्यहरुलाई गलत बनाउँदै नेपाल पक्षीय कुसुम कार्कीको बिजय भएपछि ओली पक्ष यस क्षेत्रमा घाइते बाघसरह भएको छ ।

यस क्षेत्रमा माधव नेपालको प्रभुत्व बढेको देखिएपछि जिल्ला कमिटिले हालै बुनपामा अध्यक्ष तथा बुनपा पार्टी प्रतिनिधिमा ओली पक्षीय कडा नेताहरुलाई पठाएको छ । यो परिवर्तनसँगै जिल्ला कमिटिसँग कुसुमकुमार कार्कीलगायतका क्षेत्रीय नेतृत्व रुष्ट भएको बेला कार्की टिमले एकाएक छलफल नगरी ल्याएको यस आवासीय कार्यक्रमलाई ओली पक्षी भनेर चिनिएका कतिपय नेताहरुले खुलेर आलोचना गरेका छन् । यस क्षेत्रका महत्वपूर्ण नेता उद्धव खरेल, संगम गहातराज, लक्ष्मी संग्रौला, टीका पराजुली, विन्दा गौतमलगायत थुप्रै नेताहरु यस आवासीय कार्यक्रममा गएका छैनन् भने ओली पक्षीय केन्द्रिय नेता डा राजन भट्टराई भने कार्यक्रमको प्रमुख अतिथि भएर कार्यक्रममा उपस्थित छन् । नेपाल पक्षीय नेता तथा कार्यकर्ताको सेन्टिमेन्ट जित्न जानीजानी उनी कार्यक्रममा उपस्थित भएको बताइएको छ भने एकाध ओली पक्षीय नेताहरु कार्यक्रम बुझ्नका लागि कार्यक्रममा उपस्थित भएको बताइएको छ ।

आवासीय कार्यक्रममा क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीले अत्यन्त महत्वकांक्षी योजना प्रस्तुत गरेका छन् । लिखित योजना प्रस्तुत गर्ने क्रममा कार्कीले निकै पपुलिस्ट तथा मंहगो कुरा उठाएका छन् । कार्कीले कार्यक्रममा आज छलफलका लागि भनेर उठाएका विषयहरु राष्टियस्तरका भएको एक सहभागिले कपन अनलाइनलाई टेलिफोनमा बताएका छन् ।क्षेत्रीय अध्यक्षको हिसाबले यति महत्वपूर्ण विषय तथा योजना प्रस्तुत गर्नु मात्रै पनि अत्यन्त ठूलो कुरा भएको उनले बताए ।

निकट भविष्यमा हुने स्थानीय निकाय निर्वाचन एवम् प्रादेशिक र संसदीय निर्वाचनलाई सम्बोधन गर्दै कार्कीले उठाएको विषय अति महत्वाकांक्षी भए पनि अत्यन्त प्रभावकारी भएको बताइएको छ । यद्यपि ओली पक्षीय एक नेताले एउटा मिटिङसम्म तत्काल गर्न नसक्ने क्षेत्रीय अध्यक्षले ल्याएको यो विषयहरु आफै नाटकमात्र भएको बताए । कार्कीले पेश गरेको विषयहरुमा पार्टी सदस्यको स्तर बढाउँदै उत्पादसँग जोड्नेजस्तो केन्द्रिय कमिटिस्तरको कुरा उठाएका छन् ।

कार्कीले क्षेत्रीयस्तरमा आपदविपद कोष खडा गर्ने योजना बताउँदै यो कोषले पार्टीका सदस्य दुर्घटना भएमा वा क्यान्सर, मुटु, मृगौला, मस्तिष्कलगायतका रोगमा रु २५०० हजारसम्म उपलब्ध गराउने योजना प्रस्तुत गरेका छन् । त्यसैगरी यदि पार्टी सदस्यको दुर्घटना वा माथि उल्लेखित विषयका कारण मृत्यू भएका उसको परिवारलाई रु. पचास हजार दिने योजना ल्याएका छैन । अध्यक्षले महत्वाकांक्षी योजना प्रस्तुत गर्ने क्रममा पार्टी प्यालेस संचालन गर्ने कृषि सहकारी संचालन गर्नेदेखि वर्षमा दुइवटा आर्थिक, सामाजिक, राजनीतिक, भूगोल, इतिहाससँग सम्बन्धित २ वटा किताब निकाल्नेसम्मका कुरा समेटिएका छन् । कार्कीले पर्यटन तथा कृषिबाट पार्टी सदस्यलाई उत्पादनसँग जोड्ने कुरा गर्दै आफ्नै संयोजकत्वमा बोधिचित्त र रुद्राक्षजस्ता वनस्पतिको खेती गर्ने कुरा उठाएका छन् । आवासीय छलफल कार्यक्रमको आयोजनालाई नै गुटगत राजनीतिको पराकाष्ठा भनेर आरोप लागिरहेको बेला आएको महात्वाकांक्षी कार्यक्रम कसरी कार्यान्वयन होला आफैमा सबैको चासोको विषय बनेको छ । आवाशीय छलफल कार्यक्रम असार १८ गते ११ बजे सकिने जनाइएको छ ।

यसैबीच क्षेत्र नं. ४ को सबैभन्दा ठूला हिस्सा बुढानिलकण्ठ नगरपालिकामा रहेको बुनपा कार्यालयमा हालै प्रतिनिधि भएर आएका विदुर खड्काले यो कार्यक्रमको खुलेर बिरोध गरेका छन् । सामाजिक संजालमा उनले रिसोर्ट गएर खाएर पिएर संगठन नहुने बताउँदै रमाइलो गरेर केही झुण्डमा रमाएर क्षेत्र कमिटि रुमल्लिन नहुने बताएका छन् । खड्का अगाडि लेख्छन्, प्रशिक्षणका नाममा रोसोर्ट जाने अनि आवासीय कार्यक्रम बनाउनु सिद्धान्तहिन काम हो, यसले कार्यकर्तामा नकारात्मक सन्देश जान्छ ।

तपाइँको प्रतिक्रिया ।