गहतराज र खड्काको नियुक्तिपछि बुनपा एमालेमा तरङ्ग

कपन अनलाइन, असार १, २०७३

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बुढानिलकण्ठ नगरपालिकाको एमाले नेतृत्वमा परिवर्तन गरेको छ । नयाँ नेतृत्वमा बुनपा एमालेको  संयोजक बनेर   संगम गहतराज आएका छन् । यसअघि सो पोस्टमा दीपक निरौला थिए । गहतराज कपन निवासी हुन् । एमाले जिल्ला कमिटि सचिवालय सदस्यसमेत रहेका गहतराजको बुनपा कमिटिको अध्यक्षमा नियूक्तिसँगै बुढानिकण्ठ नगरपालिकामा एमालेको प्रतिनिधिमा पनि उद्धव खरेललाई हटाएर बिदुरबिक्रम खड्कालाई ल्याइएको छ ।

Sangam_bidur

यस क्षेत्रकै सबैभन्दा प्रभावशाली नेताका रुपमा छवि बनाएका खरेललाई हटाएर खड्कालाई ल्याउनुलाई धेरैले अनौठो माने भने स्वयम् खरेल पनि यो निर्णय अत्यन्त आकस्मिक मान्दछन् । एक नाम नबताउने शर्तमा एक क्षेत्रीयस्तरको नेताले कपन अनलाइनसँग जिल्ला कमिटिको यो निर्णय राजनीति सक्ने नियतले भएको बताए । हटाउन अघि यो बारे कुनै छलफलसमेत नभएको बुझिएको छ । कसलाई हटाएर को आएको भन्ने कुरा थाहासमेत कपन अनलाइनले हेरेर थाहा पाएको एक नेताले बताए । पार्टीगत गोपनियताको कारण नाम नबताउने शर्तमा उनले भने नयाँ ल्याइएका व्यक्तिहरु निरौला र खरेलको तुलनामा कम खारिएका र राजनीतिक संतुलन मिलाउन नसक्ने खालको भन्ने उनको तर्क थियो ।

बुढानिलकण्ठ नगरपालिकाको ९० प्रतिशत क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा पर्दछ । क्षेत्र नं. ४ मा भर्खरै भएको क्षेत्रीय अधिवेशनमा एमालेभित्रको माधव नेपाल लाइनले जितेको थियो भने काठमाडौं जिल्ला कमिटिमा कृष्ण राइको नेतृत्वमा ओली ग्रुप हावी छ । क्षेत्र नं. ४ मा माधव नेपाल लाइन मजबुत भए पनि एमाले बुनपा कमिटिमा ओली ग्रुप नै हावी थियो । निरौला र खरेललाई हटाएर गहतराज र खड्कालाई ल्याउनुको पछाडि यस क्षेत्रमा ओली पक्षलाई मजबुत बनाउन गरिएको कोणबाट पनि कुराहरु आए पनि ओली पक्षका नै कतिपय क्षेत्रीयस्तरीय नेताहरु यो एकाएक भएको यो निर्णयको पक्षमा खुल्न सकेका छैनन् । समयमै यो परिवर्तनको औचित्य थाहा दिन नसके व्याकफायर हुन सक्ने आंकलन पनि गरिएको छ भने केहीले नगरपालिका प्रतिनिधिमा खड्काको उपस्थितिले नगरमा एमालेलाई मजबुत बनाउन सहज पार्ने धारणा व्यक्त गरेका छन् । गहतराज पनि ओली लाइनभित्र हार्डलाइनर भएकाले क्षेत्र नं. ४ को बुनपा एरियामा ओली पक्षलाई मजबुत पार्न ल्याइएको कोणबाट पनि हेरिएको छ । बुनपामा जिल्ला कमिटिले एक्कासी गरेको परिवर्तनलाई क्षेत्र नं. ४ एमालेले अहिलेसम्म आधिकारिक टिप्पणी गरेको छैन । श्रोतका अनुसार माधव नेपाल लाइन अहिले पर्ख हेर भन्ने मुडमा रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।