महान् सङ्गीतज्ञ अम्बर गुरूङको निधन, नेपाली सङ्गीत क्षेत्र शोकमग्न !!
फाइल फोटो
कपन अनलाइन, जेठ २५, २०७३
नेपाली संगीत क्षेत्रका विशिष्ट नक्षत्र अम्बर गुरुङको निधन भएको छ । अाज बिहान २ बजेर ३७ मिनेटमा उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका गुरुङको राजधानीको ग्रान्डी हस्पिटलमा उपचार भैरहेको थियो । नेपाली गीत-संगीत क्षेत्रलाई उँचो बनाउन विशेष भूमिका खेलेका गुरुङले नै हालको राष्ट्रिय गीत ‘सयौँ थुंगा फूलका हामी….” लाई लय तथा संगीत प्रदान गरेका थिए । अम्बर गुरुङ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पनि हुन् ।
भारतको दार्जिलिङमा अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भएको थियो । यद्यपिअम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।किशोर, राजु तथा शरदमणि नामका छोराहरू र छोरी अलकाका पिता गुरुङले आई. ए. सम्म पढेका छन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सँगीत निर्देशकसमेत रहेका थिए । गुरुङ हाल काठमाडौंको महाराजगञ्ज चक्रपथ नजीकै बसोबास गर्दैथिए ।
अम्बर गुरुङले गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत ‘इम अम्बर हुँ’ र ‘सम्हालेर राख’बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। सँगीतकार गुरुङलेभारतको कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीले रचेको को गीत रेकर्ड गरेका थिए- ‘नौ लाख तारा उदाए’। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए
राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाएका थिए । उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्याएपछि गुरुङ नेपाल आएर बसे।
अम्बर गुरुङ वि.सं. २०२६मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भएका थिए । सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी,मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन्। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पार्श्व सँगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसँगीत,स्वर दिएका छन्।
संगीत, गायन तथा शब्द तीनै बिधामा उत्कृष्ट रचना गर्न सक्ने क्षमताका धनी महान संगीतज्ञ निधनले नेपाली गीत-संगीत क्षेत्र मर्माहत भएको छ । यी महान श्रष्टाप्रति कपन अनलाइन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।