तिहारसम्ममा रानीपोखरीको बालगोपालेश्वर मन्दिर बनिसक्ने

05062016054211Rani_Pokhari_Reconstruction_04-1000x0

कपन अनलाइन, काठमाडौँ, २४ जेठ

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको माथिल्लो भाग भत्काउने काम सकिएसँगै पोखरीको वरपर सुन्दर बनाउने काम सुरु भएको छ । ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको आसपासमा पर्खाल लगाउने काम भइरहेको निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । उक्त मन्दिर गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । “काम तीव्र रुपमा अघि बढिरहेको छ, सुन्दरताको काम सकेपछि मात्र पोखरीमा रहेको पानी फाल्ने, माछा व्यवस्थापनको काम गरिने छ” कँडेलले भन्नुभयो ।

पोखरीमा रहेको केही पानी निकालिसकिएको र केही माछा समेत बालाजु बाइस धारामा लगिसकिएको छ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम पनि सुरु गरिने जनाइएको छ । हरेक वर्ष तिहारमा भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर यस वर्ष पनि दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले ढुक्कसँग प्रगोग गर्न पाउने पुनःनिर्माणमा संलग्न अरविन्द न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वैशाखदेखि सुरु गरिएको काम आगामी असोजमा सक्ने लक्ष्यका साथ तीव्रसँग अघि बढिरहेको छ ।

झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामलाई महत्वका साथ हेरिएको छ । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने छ । ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरू सहितको सेतो मूर्ति छ । केही वर्षदेखि छठ पर्व समेत मनाउन थालिएको रानीपोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् । रासस

तपाइँको प्रतिक्रिया ।