नुवाकोटको थानापतिमा साहसिक खेल क्यानोनिङ
कपन अनलाइन,नुवाकोट, २३ जेठ, २०७३
साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ । राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । “क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पुर्याउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भन्नुभयो । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।
दक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरुलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताए । “अधिकांश सहभागी पहिलो पटक क्यानोनिङमा सहभागी थिए, साहसिक खेलका रुपमा आन्तरिक पर्यटकमाझ यो लोकप्रिय हुँदै गएको छ,” एसोसिएसनका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताए। संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
फोटो रासस