खडेरीले पानीको हाहाकार, दूध बेचेर पानी किन्दै !!!
कपन अनलाइन, रामपुर (पाल्पा), ११ जेठ, २०७३
खडेरीले गाउँमा पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् । यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ । परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन् । दूध बेचेर लिएको आम्दानीले एक घरपरिवारले दैनिक ३०० देखि एक हजार लिटरसम्म पानी किन्ने गरेको अगुवा कृषक बलबहादुर सिंजालीले बताउनुभयो ।
पिउने पानी र गाईवस्तुका लागि प्रतिलिटर रु एकमा पानी किन्ने गरेको उनीहरु बताउँछन् । कृषक कुलबहादुर नगरकोटी भन्नुहुन्छ, “दैनिक ५०० लिटरभन्दा बढी पानी किन्नुपर्छ”– “दूध बेचेको रकम पानीमै खर्च हुन्छ” उहाँले भन्नुभयो । नगरकोटीले नौ वटा गाईबाट दैनिक ५० लिटरसम्म दूध बिक्री गर्नुहुन्छ ।
मायाँ खाँड पनि दैनिक ४०० लिटर पानी किनेर गाईपालन व्यवसाय गर्नुभएको छ । पानीको समस्याले गर्दा व्यवसाय बढाउन मन भए पनि बढाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले सात वटा गाईबाट दैनिक ३०÷४० लिटरसम्म दूध बिक्री गर्नुहुन्छ । दूध बेचेर लिएको आम्दानीबाट यहाँ दैनिक चार ट्याङ्करभन्दा बढी पानी भित्रने गर्दछ । गाउँ नजिकै मूल, कुवा र अन्य पानीका स्रोत नहुँदा यहाँका कृषकले दिनहुँ पानी किनेर व्यवसाय गर्न समस्या भएको बताउँछन् ।
दूध बेचेर जीविका चलाउनका निम्ति छाप गाउँका सबै कृषकले हिजोआज गाईपालन व्यवसाय अपनाएका छन् । पानीको आपूर्ति सहज भएको खण्डमा यस गाउँलाई दूध उत्पादनको नमुना पकेट क्षेत्र बनाउन सकिने पशुसेवा केन्द्र मदन पोखराका पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । रासस
(फाईल फोटो: एभरेस्टदैनिकडटकम)