ऐतिहासिक ५५ झ्याले दरबार २४ वर्षपछि खुल्यो

ऐतिहासिक ५५ झ्याले दरबार २४ वर्षपछि खुलेको छ । चार वर्षअघि जीर्णोद्धार सकिएको दरबारको स्वामित्व पुरातत्त्व विभाग वा भक्तपुर नगरपालिका कसको रहने भन्ने विवादले बन्द थियो । सहमतिबिनै नगरपालिकाले एक पक्षीय रूपमा खुल्ला गरेको भन्दै विभागले विरोध गरेको छ । २०४५ सालमा गएको भूकम्पले चर्केपछि सर्वसाधरणलाई प्रवेश रोक थियो ।

अब दरबारको भित्री भाग अवलोकन गर्न सकिनेछ । हप्ताको एक दिन मंगलबार दरबार खुलाएपछि आन्तरिक, बाह्य पर्यटकको घुइँचो लागेको छ । नगरपालिकाले गत मंगलबारदेखि खुल्ला गरेको हो । अघिल्लो साता २ हजार चार सय जनाले अवलोकन गरे पनि मंगलबार २ हजार ९ सय ३४ जनाले अवलोकन गरेका छन् । त्यसमा विद्यार्थी १ हजार ७ सय ७१, सर्वसाधरण १ हजार १ सय ३१ र पर्यटक  ३२ जना रहेको व्यवस्थापनमा खटिएका नगरपालिकाका कर्मचारी लक्ष्मण सुवालले बताए । दरबारको बाहिरबाटै अवलोकन गरेर र्फकने पर्यटकहरू भित्र पनि हेर्न पाएपछि खुसी छन् । भक्तपुरकै स्थानीयवासीले पनि यसअघि दरबारको भित्री भाग हेर्न नपाएको बताए । ७४ वषर्ीय पूर्णभक्त प्रजापतिले पहिलो पटक भित्री भागको अवलोकन गर्न पाएको बताए । ‘यो उमेरमा दरबारको अवलोकन गर्ने अवसर मिल्यो,’ उनले भने ।

भक्तपुरको वाइजल्यान्ड विद्यालयमा १० कक्षामा अध्ययनरत युवक दुवालले दरबारको बारेमा अध्ययन गरे पनि भित्री रूप मंगलबार मात्रै हेर्न पाएको बताए । ‘दरबारको बारेमा पाठ्यपुस्तकमा मात्रै अध्ययन गरेका थियौं, तर भित्री रूप हेर्न पाएको थिएन,’ उनले भने, ‘दरबारको भित्तेचित्र हेर्न हेर्न कसैले छुटाउन नहुने रहेछ ।’

तपाइँको प्रतिक्रिया ।