धरहरामा श्रद्धाञ्जलि, माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प स्मृति दिवसमा यही वैशाख १२ र १३ गते विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

oli2-624x405

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको समितिको बैठकले गृहमन्त्रालयको आयोजनामा १२ गते भूकम्पमा परी दिवङ्गत हुनुभएकाप्रति धरहरा परिसरमा बिहान ८ बजे श्रद्धाञ्जलिसहित पुष्पगुच्छा अर्पण गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित जिल्लामा समन्वय समिति वा उपसमितिको निर्णयअनुसार श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय गरेको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

समितिले भूकम्पमा परी दिवङ्गत हुनुभएकाप्रति श्रद्धासुमन अर्पण गर्न १२ गते बेलुका माइतीघर मण्डलामा र प्रभावित जिल्ला एवम् स्थानीयस्तरमा जिविसको व्यवस्थापनमा मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

भूकम्प अति प्रभावित ११ वटा जिल्लामा सर्वेक्षण सम्पन्न भएका गाविसमा आवास अनुदान प्राप्त गर्नयोग्य लाभग्राहीको जिविस, गाविस तथा नगरपालिकामा सूची प्रकाशन गरी अनुदान सम्झौता प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।

भूकम्प गएको एक वर्ष बितेका दिन पारेर प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा सामुदायिक आवास भवनको निर्माण कार्य शुभारम्भ गर्ने तयारी गरिएको छ ।

त्यसैगरी वैशाख १३ गते प्रत्येक जिल्लामा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कम्तीमा एक÷एकवटा विद्यालय तथा स्वास्थ्य संस्थाको भवनको पुनःनिर्माण कार्यको शुभारम्भ गरिनेछ ।

काठमाडौँ उपत्यका भित्रका खड्ग योगिनी मन्दिर साँखु, अनन्तपुर–स्वयम्भूनाथ, वंश गोपाल मन्दिर–हनुमान ढोका, फसी देग–भक्तपुर, मणिमण्डप–ललितपुर र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्य कार्यक्रम पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण कार्यको पुरातत्व विभागले गर्ने निर्णय गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।