नेकपा एमाले क्षेत्र नं. ४ अधिवेशनको खुल्ला सत्र चाबहिलमा हुँदै, भोलि बन्द सत्र !
कपन अनलाइन/१३ चैत्र, २०७२
नेकपा एमाले क्षेत्र नं. ४ का अधिवेशन शुरु भएको छ । २ दिन चल्ने अधिवेशनअन्तर्गत यतिखेर चाबहिलको गणेस्थान चौरमा अधिवेशनको खुल्ला सत्र संचालन भैरहेको छ । क्षेत्र नं. ४ को दोस्रो राजनीतिक दल एमालेको दोस्रो अधिवेशनमा प्रमुख अतिथि बनेका एमाले महासचिव इश्वर पोखरेलले अबको एमाले राजनीति समाजवादी क्रान्ति उन्मुख हुने उद्घोष बताएका छन् ।
कार्यक्रममा राजन भट्टराई, जीवनराम श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलगायतको उपस्थितिमा भैरहेको खुल्ला सत्रमा एमालेका क्षेत्रीय अधिवेशन प्रतिनिधिसहित सुभेच्छुकहरु उपस्थिति रहेको छ । आज खुल्ला सत्र पछि भोलि बन्द सत्र तथा नयाँ क्षेत्रीय समिति चयन हुने कार्यक्रम रहेको छ । हालसम्म माधव नेपाल पक्षबाट क्षेत्रीय अध्यक्ष पदमा कुसुमकुमार कार्की र सचिव पदमा ध्रुवराज न्यौपानेले आधिकारिक रुपमा उम्मेदवारी दावी गरेका छन् । ओली पक्षबाट हालसम्म अध्यक्ष पदमा दुई जनाको नाम अगाडि आए पनि को सम्भावित उम्मेदवार भन्ने कुरा पक्का गर्न सकेको छैन । यी दुई नाममा टीका पराजुली र लक्ष्मी संग्रौला रहेका छन् । ओली पक्षबाट क्षेत्रीय सचिव पदमा निरन्जन नेपालको नाम आउने सक्ने बताइएको छ । सचिव पदका दुवै उम्मेदवार ध्रुवराज न्यौपाने र निरन्जन नेपाल कपनका हुन् । कपनबाट क्षेत्र नं. ४ मा सबैभन्दा बढि ४३ जना प्रतिनिधि जाँदैछन् । बन्द सत्र तथा क्षेत्रीय समितिको चयन भोलि कपनस्थित हिलिम पार्टी प्यालेसमा हुनेछ । (फोटो: पुन्यराज पुडासैनी)