जताततै आमिर खानको चर्चा : टाइम्स म्यागजिनको कभरमा आमिर

बलिउड स्टार आमिर खान ‘टाइम’ म्यागेजिनको कभर पेजमा छापिने तेस्रो भारतीय कलाकार बन्न सफल भएका छन्। सामाजिक चासोका मुद्दाहरु आफ्नो टेलिभिजन सो ‘सत्यमेव जयते’ मा उठाएका कारण उनको विषयलाई कभर स्टोरीका रुपमा ‘टाइम’ले छापेको ‘इन्डिया टुडे’ले जनाएको छ।

खान्स क्वेस्ट शीर्षकमा म्यागेजिनमा भारतका सामाजिक शत्रुविरुद्ध उनको लडाइँलाई उल्लेख गर्दै के एक जना कलाकारले राष्ट्रलाई परिवर्तन गर्न सक्छ भन्ने प्रश्न गरिएको छ।

महिला भ्रुण हत्या, बाल यौन दुराचार लगायतका विषयमा उनले आफ्नो शोमा प्रश्न उठाएपछि मुद्दालाई गम्भीर रुपमा लिइएको थियो। राजस्थान सरकारले महिला भ्रुण हत्याका सम्बन्धमा फास्ट ट्रयाक कोर्ट स्थापना गर्ने काम यही सो पछि नै गरेको थियो।

टाइमको कभर पेजमा यसअघि सन् १९७६ मा परवीन बाबी र सन् २००३ मा ऐश्वर्या रायको फोटो छापिएको थियो।

टाइममा छापिने अन्य भारतीयमा सचिन तेन्दुलकर, सानिया मिर्जा, इन्दिरा गान्धी, राजीव गान्धी र नरेन्द्र मोदी रहेका छन्। महात्मा गान्धी तीन पटक टाइमको कभरमा छापिएका थिए। सन १९३० मा त गान्धीलाई म्यान अफ दि इयर समेत घोषणा गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।