इक्यान(ECAN)मा बस्नेत समूह प्रभावशाली

rsz_ecan_logoकपन अनलाइन/फागुन १३, २०७२
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को फागुन १५ गते हुने निर्वाचनका लागि मंगलबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । आगामी कार्यकालका लागि उपाध्यक्षद्वय सरोजकुमार बस्नेत र प्रकाश पाण्डेले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका दावी गरिरहेका सरोजकुमार बस्नेतले आफ्नो समूहलाई राजनीतिक स्वरुपको ‘प्यानल’ नभई व्यवसायीहरुको समूह भएको घोषणा गरेका छन् । यस समूहले बुधबार राजधानीको अल्फा विटा हाउसमा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । परिचयात्मक कार्यक्रममा इक्यानका अध्यक्ष राजेन्द बराल, निवर्तमान अध्यक्ष दिपक गुरुङ, पूर्व उपाध्यक्ष द्वीराज शर्मा, सल्लाहकार महेश कार्की, सल्लाहकार समितिका सभापति अरुण लामिछाने, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीलगायतको उपस्थिति थियो ।

यसरी पूर्व अध्यक्ष तथा पूर्व उपाध्यक्षहरुले बस्नेत समूहलाई समर्थन गरेपछि पाण्डे समूह भन्दा बस्नेत समूह तुलनात्मक रुपमा बलियो मानिएको छ । पाण्डे समूहसँग नजिक मानिएका अध्यक्ष बरालले आज बस्नेत समूहलाई शु्भकामनाका साथै सकारात्मक सन्देश दिएपछि बस्नेत समूह दरो देखिएको बताइएको छ । यसै कार्यक्रममा बस्नेत समूहले १४ बुँदे एजेण्डासहित घोषणापत्र पनि सार्वजनिक गरेको छ । अध्यक्षका दावेदार बस्नेत अग्रज व्यवसायी र प्रभावशाली मानिन्छन् । उनी नेटकोटेकका सञ्चालक हुन् । बस्नेतको समूहबाट उपाध्यक्षमा महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल र निरज सिटौला (भुपेन्द्र) ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसै समूहबाट पोखराका महेश भण्डारीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । भण्डारीको उम्मेदवारीले इक्यानको चुनाव थप रोचक बन्न पुगेको बताइएको छ । भण्डारीले इक्यान कास्कीमा लगातार ३ पटकसम्म नेतृत्व गरिसकेका छन् । उनी इक्यानको इतिहासमै काठमाडौं बाहिरबाट संस्थाको महासचिव पदमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् । त्यस्तै, सचिवमा उमेश ढुंगेल र रजनी श्रेष्ठ, कोषाध्यक्षमा भरत रेग्मी र सहकोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सदस्यमा बस्नेत समूहबाट सूर्यबहादुर डाँगी, कमला बस्नेत, डिआर थापा, रमेश थापा (पोखरा प्रतिनिधि), रिता तण्डुकार, प्रशान्त साह, रमेश जोशी, विक्रम केसी, भरत ढकाल प्रतिस्पर्धामा छन् ।

उता पाण्डे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रकाश पाण्डेको समूहले उम्मेदवारी घोषणा गरेको थियो । मेट्स एजुकेशनका सञ्चालक पाण्डे कन्सलटेन्सीको क्षेत्रमा अग्रणी व्यवसायी हुन् । उनको प्यानलबाट विष्णुहरि पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराई उपाध्यक्षका उम्मेदवार बनेका छन् । महासचिवमा भने कमन फाउण्डेसनका सन्तोष प्याकुरेल उम्मेदवार बनेका छन् । त्यसैगरी सचिवमा श्रीराम पौडेल र देवीदास भट्टराइलाई उम्मेदवार बनाइएको छ । कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बू र सह–कोषाध्यक्षमा रमेश वाग्ले पाण्डे प्यानलका उम्मेदवार हुन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा गोविन्द अधिकारी, दीपकराज भुसाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ (बिके), प्रदीप मण्डल, प्रकाश श्रेष्ठ र यज्ञविलाश पौडेल उम्मेदवार बनेका छन् । पाण्डे प्यानलले २१ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ ।

ecan (1)
बस्नेत समूहका १४ बुँदे एजेण्डा
१. अब, इक्यान काउन्सिल बनाउन सक्नैपर्छ । यदि यो सम्भव भयो भने मात्रै हामी व्यवसायीहरुको हकहितको कुरा गर्नु सम्भव छ । हाम्रा समस्या र आयामहरुको समाधान र पहिचान हामी आँफैले गर्ने हो र यसका लागि यो प्रयास नै निर्विकल्प सत्य हो । नेपाल सरकार मातहत रहने अर्धन्यायिक निकायको रुपमा नेपाल सरकार परिषद ऐन अन्तर्गत रहने गरी शैक्षिक परामर्श परिषद स्थापनाको लागि हाम्रो समुह समर्पित छ ।
२. एक देश एक सूचना केन्द्रको स्थापना यो समयको माग हो । नेपाली विद्यार्थीहरुले रोज्ने गरेका प्रमुख गन्तव्य बनेका देशका राजदुतावास तथा सम्बन्धित संस्थासँग उक्त देशको शिक्षा, संस्कृति र वर्तमान परिवेशका बारेमा सुचना प्राप्त हुने गरी विभिन्न देशका सुचना केन्द्रको नेपालमा स्थापना गरिदिन पहल तथा सहजिकरण गर्न सक्यो भने आधिकारीक सुचनाका कारण हामी व्यवसायि र नेपाली विद्यार्थीका लागि फलदायी हुने सुनिश्चित छ र यो महत्वपुर्ण प्रयासका लागि हाम्रो समुहले कुनै कसर बाँकी राख्ने छैन ।
३. इक्यान इ–लाइब्रेरीको व्यवस्था गरेर वैदेशिक अध्यय्न तथा अध्यागमनको जानकारी सहज रुपमा दिलाएर व्यवसायीहरुलाई अपडेट एवं अपग्रेड गरिरहन सक्ने लक्ष्यमा हाम्रो समुह अडिग छ ।
४. नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी निर्देशिकाको वृहत्तर अध्यय्न तथा समिक्षामार्फत शिघ्रातिशिघ्र हामी सम्पुर्ण व्यवसायिको उच्चतम हितको लागि पुनरावलोकन, परिमार्जन तथा संसोधनका लागि सम्बन्धित निकायसँग पैरवी गर्ने सवालमा हामी एकजुट छौं ।
५. व्यवसायीहरुलाई आधारभुत तालिमको व्यवस्था गर्न, अन्तराष्ट्रिय स्तरका वर्कसपहरु जस्तैः वाइबा, इसाना, नाप्सा, आइसिएफहरुलाई नेपालमा संचालन गरेर व्यवसायि तथा विद्यार्थीहरुलाई जानकारी दिलाउने उद्देश्य पनि हाम्रो प्राथमिकतामा छ ।
६. विद्यार्थीहरुले तिर्दै आएको एक प्रतिशत शैक्षिक करबाट पनि विद्यार्थीले पाउन सक्ने के कस्तो सुविधा हुन सक्छन् त्यसको अध्यय्न गरेर विद्यार्थी तथा अभिभावकका लागि सहज हुने बाटोको पहिचान गरी त्यसका लागि आवश्यक परेसम्मको पहलकदमीका लागि हामी तयारी छौं ।
७. विभिन्न शैक्षिक परामर्श संघहरु जो छन् तीबीच एकताको भावना जागृत गराएर एउटै बनाउने हाम्रो एजेन्डा हो । यसका कारण यस उद्योगलाई साझा उद्देश्यका लागि एकत्रित आवाजमार्फत सबलिकरण गर्न यो कदम जरुरी छ ।
८. यस क्षेत्रका हामी व्यवसायीहरुको हितका लागि इक्यानले विदेशी कुटनितीक निकायहरुसँग सम्बन्ध सुदृढिकरण गर्दै इक्यानको पहुँच बढाउन अत्याधिक आवश्यक छ । जसका लागि हाम्रो समुहका सदस्यहरु योग्य र सक्षम हुनुहुन्छ ।
९. हामी व्यवसायीहरुले गर्दै आइरहेको करियर काउन्सिलिङ्ग संवेदनशिल पेशा हो, सिजनल होइन । संवेदनशिल पेशा जो छ हामीले संवेदनशिलताका साथ यो व्यवसायको निरन्तरता गर्न जरुरी छ । यसका लागि हामी हरेक व्यवसायी आफ्नो पेशाप्रति उत्तरदायी र जिम्मेवार रहनै पर्छ । यसका लागि सुचनामुलक तालिम, गोष्ठी तथा भेलाहरुको आयोजना जरुरी छ र यसका लागि हाम्रो समुहभित्रकै सदस्यहरु सक्षम र जानकार हुनुहुन्छ ।
१०. इक्यानमा रहेको कोषलाई आगामी दिनमा अझ वृद्धि गर्दै जानको लागि स्रोतको पहिचान गर्ने र साथसाथै इक्यानका आफ्ना खर्चहरुलाई कार्यविधी र नियमावलिबाट मात्र खर्च गर्ने गरी आर्थिक इमान्दारीताको परिपाटी निर्माण तथा विकास गर्ने ।
११. आईएलटिएस परिक्षाको मागअनुसारको उपलब्धता हुँदै नभएको कारण जुन समस्या हामी व्यवसायी र विद्यार्थीले भोगिरहेका छौं त्यसको समाधान ब्रिटिस काउन्सिलको विकल्प अपनाएर मात्रै सम्भव छ । जसका लागि हाम्रो समुहले आइ.डि.पि लाई नेपालमा भित्राउन हरसम्भव प्रयास गर्नै पर्ने छ र जसका लागि हामी प्रतिबद्ध पनि छौं ।
१२. १०औं वार्षिक साधारण सभाबाट संसोधनसहित पारित वार्षिक कार्ययोजनाहरुलाई अगाडी बढाउने । साधारण सदस्यहरु र पदाधिकारीको बीचमा देखिएको आधिकारिक संवादहिनता तथा एकतर्फि संवादको पुर्वअभ्यासहरुको अन्त्य गरी नियमित साक्षात्कार तथा सम्पर्कको संयन्त्रहरुको विकास गर्न जरुरी छ र हामी त्यो अभ्यासका लागि प्रतिबद्ध छौं ।
१३. इक्यान आँफैमा गैह्रनाफामुलक संस्था हो । व्यवसायीहरुको अधिकतम हकहित र कल्याणको पक्षमा सदैब उभिनुपर्ने इक्यानको मर्म हो । यसको साथसाथै विविध किसिमका सामाजिक कामहरु मार्फत अफ्ना गतिविधीहरु गर्दै देश र समाजको सकारात्मक परिवर्तनमा योगदान गर्न तथा सहभागि हुने हाम्रो योजना हो ।
१४. इक्यानमा आन्तरिक कार्यालय व्यवस्थापन सदस्य संस्था र तिनका सुचनाहरु एवं बाहिरी निकायसँगका सम्बन्ध तथा गोप्य जानकारीहरुलाई नितान्त इक्यानको हितमा प्रयोग गर्ने, कुनै पनि किसीमले तिनको दुरुपयोग नहोस् भन्नको लागि इक्यानका आफ्ना भर्चुअल प्रपर्टीहरु संरक्षणका निम्ती त्यस किसिमको कार्यविधी बनाई लागु गर्ने हाम्रो कार्यसूचीमा छ ।

तपाइँको प्रतिक्रिया ।