विचल्लीमा परेको छैनौं ः चिलीका विद्यार्थी
१२ माघ, काठमाडौं । अहेड इन्टरनेशनलले चिलीमा विद्यार्थी पठाई विचल्लीमा पारेको कुरा स्वयम् विद्यार्थीहरुले खण्डन गरेका छन् । अहेडका संचालक निरज राईलाई चिलीमा विद्यार्थी पठाई अलपत्र पारेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । संचालक राईको पक्राउ पछि चिलीमा रहेका विद्यार्थीहरुले चिली हेर्ने ब्राजिलमा रहेको दुतावासमा पत्र पठाउदै आफुहरु सकुशल रहेको जनाएका छन् ।
उनीहरुले पत्रमा चिलीको सरकारी नियम अनुसार अध्ययन गरिरहेको पनि जनाएका छन् । नविन श्रेष्ठ, राजनशुर राई, मानबहादुर राई, अतुल राना मगर, प्रताप राना र सोम लामाले हस्ताक्षर गरेर पठाएको पत्रमा समाचारमा आएको जस्तो विद्यार्थीहरु अलपत्र नभएको जनाएका छन् । उनीहरुले चिलीमा बस्न चाहने नेपालीहरुले कुनै पनि समस्या भोग्नु नपर्ने र सहज र सरल तरिकाले बस्ने व्यवस्था भएको उल्लेख गरेका छन् ।
हेर्नुहोस विद्यार्थीको पत्र
अहेड इन्टरनेशनलले चिलीमा रहेको एमसिआई– मल्टि कल्चरल इन्ष्टिच्युटमा पढ्नका लागि विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ । अहेडका एक जना संचालक गोलकुमार बस्नेतले अहेडबाट गएका बिद्यार्थीहरु कुनै बिचल्लीमा नपरेको भन्दै स्पस्टिकरण दिएका छन् । आफुहरु र आफ्नो संस्थाको छबि बिगार्न केहि संस्था तथा ब्यक्तिहरुले पर्दा पछाडी काम गरेको भन्दै बस्नेतले स्पष्ट रुपमा छानविन गर्न माग गरेको छन् ।
हेर्नुहोस् अहेडको पत्र
प्रहरीले करोडौ रुपैयाँ ठगी गरेको भन्दै बानेश्वरस्थित अहेड इन्टरनेशनलको कार्यालयका संचालक निरज राईलाई पक्राउ गरेको हो ।
प्रहरीले ४२ जना विद्यार्थीबाट करोडौं ठगी गरेको आरोप लगाएको छ । विद्यार्थीहरुले मानव तस्करले आफूहरुलाई चिली ल्याइ अलपत्र पारेकोभन्दै ब्राजिलमा रहेको नेपाली राजदूतावासमा उजुरी गरेपछि प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाएको दाबी गरेको छ ।