नगर सभापतिमा कोइराला र बुढाथोकी भिड्ने पक्का
इकाईको ९ मा शम्भु, १० मा गोकुल र ११ मा शंकर
विकास लम्साल
कपन, माघ १२ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको चर्चाले बुढानिलकण्ठ नगरपालिकामा पनि सरगर्मी बढेको छ । क्षेत्रीय सभापतिमा हालसम्म ३ जनाको नाम बजारमा आएको छ । क्षेत्रिय सभापतिका लागि राजु श्रेष्ठ, श्यामकृष्ण संगत र न्हुच्छेनारायण श्रेष्ठले आ–आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
यसैगरी नगर सभापतिमा अहिलेसम्म दुई जनाको नाम चर्चामा छ । गणेश कोइराला र राजाराम बुढाथोकीले नगर सभापतिमा उम्मेदवारी दिने पक्कापक्की भइसकेको छ । दुई जनाबीच सर्वसम्मतबाट निर्णय लिनका लागि काठमाडौं क्षेत्र नम्वर ४ का सभासद गगनकुमार थापा, नेता चिरन्जिवीनिधी तिवारी लगायतका ४ नम्वर क्षेत्रका नेताहरुबीच मंगलबार बसेको बैठकमा छलफल हुदाँ सहमतिको सम्भावना टरेपछि नगर सभापतिमा दुई जनावीच चुनावी प्रतिश्पर्धा हुने पक्का भएको छ ।
नगर सभापतिका उम्मेदवार गणेश कोइराला नगरपालिकाको १० नम्वर वडाका वासिन्दा हुन् भने राजाराम बुढाथोकी १८ नम्वर वडाका वासिन्दा हुन् । उमेरले पनि पाका कोइराला कांग्रेस राजनीतिमा २०२९ सालदेखि सक्रिय छन् । २०३६ सालमा राजनीति गरेकै कारण अराष्ट्रिय तत्वको विल्ला लागि कोइरालाले सरकारी सेवाबाट हात धुन परेको थियो ।
प्रजातान्त्रिक पद्धति अनुसार राजनीति चल्ने भएकोले जनताले पत्याएको मान्छे नेतृत्व पुग्नुपर्ने धारणा कोइरालाको छ । आफ्नो उम्मेदवारी स्थानीय क्षेत्रको विकास र संगठन विस्तारको लागि भएको उनी बताउछन् ।
अर्का उम्मेदवार बुढाथोकी २०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीतिमा लागेका हुन् । कपन क्षेत्रको इकाई र क्षेत्रिय स्तरका रहेर काम गरेका बुढाथोकी कपन कांग्रेसको सभापतिमा आठ वर्ष विताइसकेका छन् । उनी अहिले एकीकृत योजना तर्जुमा समितीमा रहेर कपन क्षेत्रको विकासमा सक्रिय रहेका छन् ।
कांग्रेस फुट्दा बुढाथोकी प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए । पार्टीमा युवा वर्ग अघि आउनुपर्ने धारणा उनको छ । उनी संगठनलाई बलियो बनाउनकै लागि आफ्नो उम्मेदवारी दिएको बताउछन् ।
यसैगरी बुढानिलकण्ठ नगरपालिकाको ९ नम्वर वडाको इकाई सभापतिमा शम्भु थापा, १० नम्वर वडाको इकाई सभापतिमा गोकुल बरुवाल र ११ नम्वर वडाको इकाई सभापतिमा शंकर आचार्य चुनिने पक्कापक्की भइसकेको छ ।