नेपथ्यको तीन खेलाडीहरु

कपन अनलाइन/माघ १०, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको मुखमा बिभिन्न चलखेल, जोडघटाउ एवम् आंकलनका पक्षहरु चलिरहेका छन् । बिहानै चिया पसलदेखि ढिलो राति भट्टि पसलसम्म को आउला ? उ आउला कि नआउला ? जस्ता प्रश्न र आआफ्ना हैसियतका उत्तर आइरहेका हुन्छन् । संभावित उम्मेदवारहरु क्रियाशिल सदस्यहरुका घरघरमा गएर भोट मागिरहेका छन् । माथिल्ला लेबलका नेताहरु बुथमा आफ्नो मानिसलाई कसरी ल्याउने भनेर दिनरात फोनमा झुण्डिरहेका हुन्छन् ।
कतिपय ठाउँमा प्यानल नै छुट्टा छुट्टै बनाएर प्यानल नै चुनावी प्रचारमा हिँडेका छन् भने कतिपय ठाउँमा अदृष्यमा बसेर केही राजनीतिका खेलाडिहरु आआफ्ना मानिसलाई जिताउन लागेका देखिन्छन् । काठमाडौं क्षेत्र नं. ४ मा यसरी राजनीति गर्नेमा बयोबृद्ध नेता चिरन्जिवीनिधि तिवारीको नाम अगाडि आउँछ । उनी आफ्नो डिल्लिबजारस्थित आफ्नो निवासमा बसेर कसलाई कहाँ जिताउने वा कसलाई हराउने भन्ने लेखाजोखा गर्दै बस्ने गर्दछन् र आफ्ना विश्वासिला पात्रहरुलाई खटाउँछन् । भनिन्छ, तिवारी यसपटक श्यामकृष्ण संगतलाई क्षेत्र नं. ४ को सभापति बनाउन चाहन्छन् । संगतलाई सभापति बनाउन उनले दिलोज्यान दिइरहेको बताइन्छ ।

100CANON

तिवारीजस्ता अदृष्यमा बसेर देखिने नतिजा ल्याउन माहिर खेलाडिहरु हरेक इकाईमा कोही न कोही छन् । कपन समेटिएको बुनपाका ५ वटा वडाहरुमा पनि यस्ता व्यक्तिहरु छन् । यस्ता नेपथ्यमा बसेर देखिने काम गर्नेहरुमा वडा नं. १४ का तीन पात्रहरु यतिखेर चर्चामा छन् । उनीहरु हुन्ः राजुविक्रम थापा, बद्रि भट्टराई र मनोज सिग्देल । यी तिनैजना पात्रहरु न इकाई उठेका छन् न बुथमा । तर उनीहरुको सक्रियता उम्मेदवार हुनेहरुको भन्दा धेरै छ । सबै कृयाशिल सदस्यहरुसँग उनीहरुको सम्पर्क हुने गर्दछ र आफूले चाहेका व्यक्ति वा प्यानललाई जिताउन सक्रिय छन् । उनीहरुले विशेषगरेर होमनाथ तिमिल्सिनालाई जिताउन सक्रिय छन् भने बुथमा पनि दुई अमुक(नाम बताउन आनाकानी गरेका) पात्रलाई जिताउन दिलोज्यान दिएका छन् । उनीहरुको सक्रियताकै कारण महिला बुथ सदस्यमा मन्जु खतिवडा सर्वसम्मत हुने अवस्थामा पुगेको बताइन्छ भने उनीहरुले नै चाहेका मानिस इकाइ र बुथमा आउने निश्चित बताइन्छ ।
उनीहरुले किन नेपथ्यमा बसेर यस्तो काम गरिरहेका छन् त ? यो प्रश्नको उत्तर उनीहरु स्पष्ट दिन चाहदैनन् तर राजनीतिको लामो यात्राको शुरुवातको रुपमा यो नेपथ्यमा बसेर खेल खेल्ने काम गरिएको भाव भने उनीहरुले व्यक्त गरे । त्यसो त यी तिन युवा पात्र सक्रिय राजनीतिका नै पात्र हुन् । राजुविक्रम थापा लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय सदस्य हुन् । बद्रि भट्टराई नेविसंघ क्षेत्र नं. ४ का सभापति हुन् भने मनोज सिग्देल ट्रेड युनियन महासंघ अन्तर्गत व्यापार संघका केन्द्रिय सदस्य हुन् ।

तपाइँको प्रतिक्रिया ।